पत्रपत्रिका खवर
सांकेतिक तस्वीर

काठमाडौं । पछिल्ला पाँच महिनामा जघन्य प्रकारका अपराधमा कमी आएको नेपाल प्रहरीको एक तथ्यांकले देखाएको छ । बैंकिङ कसुर र चोरीका घटनामा उल्लेख्य वृद्धि हुँदा जघन्य प्रकृतिका अपराधमा भने कमी आएको प्रहरी तथ्यांकले देखाएको हो ।

प्रहरी प्रधान कार्यालयले तयार गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७८÷७९ को पाँच महिना अर्थात् गत साउनदेखि मंसिर महिनासम्मको पाँचमहिने अवधिमा बैंकिङ कसुरसम्बन्धी घटनामा १ सय ५ प्रतिशतले वृद्धि भएको देखाएको छ ।

Advertisement

अपराधका १४ शीर्षकमा पाँच महिने ग्राफ

यसैगरी, सोही अवधिमा चोरीका घटनामासमेत ३५ दशमलव ४ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । सो तथ्यांक प्रहरीले अघिल्लो आर्थिक वर्षको सोही अवधिलाई आधार मान्दै तयार गरेको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी वसन्त कुँवरले अघिल्लो वर्ष कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण मानिसहरू घरमै बसेकाले चोरीका घटनामा कमी भएको देखिएको तर अहिले सो संख्यामा केही बढेको तथ्यांकले देखाएको बताए ।

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७÷७८ को सुरुको पाँचमहिने अवधिमा ८ सय ८० बैंकिङ कसुरका घटना भएको देखिएको छ । तर, चालू आर्थिक वर्षको सो अवधिमा नै १८ सय ७ बैंकिङ कसुरका घटना भएको पाइएको तथ्यांक देखाउँछ । यो भनेको १ सय ५ प्रतिशत बढी हो ।

बैंकिङ कसुर– १८०७

चोरी– १२३७

कर्तव्य ज्यान– २४६

ज्यान मार्ने उद्योग– ४६५

यसैगरी, आर्थिक वर्ष २०७७/७८ को सुरुको पाँचमहिने अवधिमा चोरीका विभिन्न ९ सय १६ घटना भएको देखिएको छ । तर, चालू आर्थिक वर्षको सो अवधिमा नै चोरीका १२ सय ३७ घटना भएको तथ्यांकले देखाएको हो । अघिल्लो आर्थिक वर्ष र चालू आर्थिक वर्षको पाँचमहिने अवधिलाई तुलना गर्दा यो ३५ दशमलव ४ प्रतिशतले बढी हो ।

यसैगरी, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, आत्महत्या, हातहतियार खरखजाना, जबरजस्तीकरणी, जबरजस्तीकरणी उद्योगलगायतका जघन्य किसिमका अपराधका शीर्षकमा भने कमी आएको तथ्यांक देखाउँछ ।

आर्थिक वर्ष २०७७-७८ को सुरुको पाँच महिना अर्थात् साउनदेखि पुससम्ममा कर्तव्य ज्यानसम्बन्धी २ सय ९० घटना भएको तथ्यांक देखाउँछ । चालू आर्थिक वर्षमा भने सो अवधिमा २ सय ४६ घटना भएको पाइएको छ । यो गत आर्थिक वर्षको पाँच महिनाको अवधिअनुसार १५ दशमलव १७ प्रतिशतले कम हो ।

यसैगरी, आर्थिक वर्ष २०७७-७८ को सुरुको पाँच महिना अर्थात् साउनदेखि पुससम्ममा ज्यान मार्ने उद्योगअन्तर्गत ४ सय ८४ घटना भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा ४ सय ६५ घटना भएको पाइएको हो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३ दशमलव ९२ प्रतिशतले कम हो ।

– अघिल्लो वर्ष कोरोना संक्रमणका कारण जारी निषेधाज्ञाका कारण मानिस घरमै बसेकाले चोरीका घटनामा कमी भएको देखिएको थियो । तर, अहिले सो संख्या केही बढेको छ ।

– पहिलेभन्दा प्रहरीको सक्रियता बढेकाले जघन्य अपराधका घटनामा कमी आएको छ

– बैंकिङ कसुरका घटनामा भने सामान्य लेनदेनका विवाद र चेक बाउन्सका घटना पनि समेटिएकाले धेरै देखिएको हो

वसन्त कुँवर, एसएसपी एवं केन्द्रीय प्रवक्ता, नेपाल प्रहरी

यस्तै, आर्थिक वर्ष २०७७-७८ को सुरुको पाँच महिनामा आत्महत्याका घटना २९ सय ८५ अर्थात् हुँदा चालू आर्थिक वर्षको सोही अवधिमा २६ सय २८ घटना भएको छ । यो अघिल्लो वर्षको सो समयको तुलनामा ११ दशमलव १६ प्रतिशतले कम हो ।

यसैगरी, हातहतियार खरखजानासम्बन्धी १ सय १३ घटना सो अवधिमा अघिल्लो आर्थिक वर्षमा हुँदा चालू आर्थिक वर्षको पाँच महिनामा भने ८९ घटना भएको पाइएको छ । यो अघिल्लो वर्षको तुलनामा २१ दशमलव २४ प्रतिशतले कम हो ।

यसैगरी, जबरजस्तीकरणीका घटनामा अघिल्लो वर्षको पाँच महिनाको अवधिभन्दा चालू आर्थिक वर्षको मंसिरसम्म ९ दशमलव ४८ प्रतिशतले कमी भएको पाइएको छ । यस्तै, जबरजस्तीकरणी उद्योगको घटनामा पनि कमी आएको तथ्यांक देखाउँछ ।

प्रहरी प्रवक्ता कुँवर पछिल्लो समय प्रहरीको सक्रियता बढेकाले धेरैजसो जघन्य अपराधका घटनामा कमी आएको पाइएको दाबी गर्छन् । ‘पहिलेभन्दा प्रहरीको सक्रियता बढेकाले जघन्य अपराधका घटनामा कमी आएको देखिन्छ,’ प्रहरी प्रवक्ता कुँवरले भने । उनका अनुसार बैंकिङ कसुरका घटनामा भने सामान्य लेनदेनका विवाद र चेक बाउन्सका घटना पनि समेटिएकाले धेरै देखिएको हो ।

प्रहरीको तथ्यांकअनुसार लागूऔषधसम्बन्धी अघिल्लो आर्थिक वर्षको मंसिरसम्मका १ हजार १५ घटना हुँदा चालू आर्थिक वर्षको सोही अवधिमा १ हजार ४ सय ७८ घटना भएका छन् । यो तथ्यांक अघिल्लोभन्दा ४५ दशमलव ६१ प्रतिशतले बढी हो ।

यसैगरी, सवारी ज्यान तथा अंगभंगका घटनामा २७ दशमलव ३७, अपहरण वा शरीर बन्धकसम्बन्धी कसुरमा २७ दशमलव २७ प्रतिशत, मानवबेचबिखन तथा ओसारपसारका घटनामा ९० प्रतिशत, ठगी तथा विश्वासघातका घटनामा १६ दशमलव ४१ प्रतिशत र सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा ४४ दशमलव ६९ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाएको छ । प्रहरी तथ्यांकले समग्रमा जघन्य प्रकारका आपराधिक क्रियाकलापमा कमी आएको देखाएको हो । – यो खबर आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!