पत्रपत्रिका खवर

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी २० वैशाख २०७९ मा गर्ने तयारी गरेको छ । स्थानीय तहतर्फका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल ५ जेठमा सकिँदै छ । कार्यकाल सकिनुअघि नै स्थानीय तहलाई नेतृत्व दिनेगरी आयोगले निर्वाचन गर्न तयारी थालेको हो ।

Advertisement

प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिन लागेकाले २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी आयोगले तयारी गरिरहेको जानकारी दिए ।

सरकारसँग परामर्श गरिने

‘देशको संविधान र निर्वाचन कानुनमा कार्यकाल सकिएपछि म्याद थपको व्यवस्था छैन, त्यसकारण जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै आयोगले स्थानीय तहको निर्वाचन गर्नेगरी तयारी गरिरहेको छ,’ काभ्रेको धुलिखेलमा आयोजित दुईदिने ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’मा थपलियाले भने ।

त्यसका लागि आयोगले छिट्टै नै सरकारसँग परामर्श गर्नेसमेत उनले जानकारी दिए । यसअघि भने आयोगले सरकारसँग स्थानीय तहको निर्वाचनका लागि ५ चैतको मिति प्रस्ताव गरेको थियो । स्थानीय तहको निर्वाचन कानुनमा केही विवाद र जटिलतासमेत छ । यस्तै, संविधान र कानुनमा म्याद थपको व्यवस्थासमेत राखिएको छैन ।

गोष्ठीमा विभिन्न सञ्चारमाध्यममा कार्यरत २६ जना महिला पत्रकारको सहभागिता छ । गोष्ठीमा निर्वाचन चक्र र निर्वाचन प्रक्रिया, नेपालमा आमसञ्चारको अवस्था, मिडिया साक्षरता र निर्वाचनको रिपोर्टिङ, निर्वाचन, निर्वाचन आयोग र आमसञ्चार व्यवस्थापन, निर्वाचनमा आमसञ्चारको अनुगमन र नियमन, निर्वाचन व्यवस्थापनमा लैंगिकता तथा समावेशिता, निर्वाचनमा सामाजिक सञ्जाल उपयोग, चुनौती र अवसर, अप्ठ्यारो अवस्थामा निर्वाचनको रिपोर्टिङ र डिजिटल युगमा निर्वाचन तथा मिडियाका विषयमा छलफल हुने आयोगले जनाएको छ । – आजको राजधानी दैनिकमा समाचार छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!