धनकुटा । पाख्रीवास नगरपालिकाको नगर सभामा तोडफोड गर्नेलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउँन नेकपा एमाले निकट राष्ट्रिय युवा संघले प्रशासनलाई दवाव दिएको छ । युवा संघ सम्बद्ध दर्जनौं युवाहरु मंगलबार जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थलाई भेटेर तोडफोडमा संलग्नलाई तत्काल पक्राउ गर्न दवाव दिएका हुन् ।
राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य बलदिप राई, जिल्ला अध्यक्ष केशर तुम्सा, उपाध्यक्ष जम्सेर राई, पाख्रीवास नगर अध्यक्ष सरोज राई लगायतको नेतृत्वमा युवाहरु प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी पन्थको ध्यानाकर्षण गराएका हुन् । राजनीतिक पूर्वाग्रहका आधारमा बजेटको सिलिङ तोकिएको भन्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव पक्ष र जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले असार १० गते पाख्रीवास नगरपालिकाको आठौं नगरसभामा हुलदंगा र तोडफोड गरेका थिए । तोडफोडबाट आधा दर्जन झ्यालका सिसा फुटेका छन् भने दर्जनौं कुर्सी तोडफोड भएका छन् ।
घटनामा संलग्न भएको भन्दै पाख्रीवास नगरपालिकाको तर्फबाट १५ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिइएको छ । प्रहरीमा उजुरी परेपछि पाख्रीवास–४ का वडाध्यक्ष सोवित निरौलाले गत बिहिबार प्रहरी समक्ष गिरफ्तारी दिएका छन् । वाँकी १४ जना फरार छन् । उनीहरुलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउँनुपर्ने युवा संघको माग छ । प्रमुख जिल्ला अधिकारी पन्थलाई भेटेर युवा संघका नेताहरुले तोडफोडमा संलग्नलाई तत्काल पक्राउ गर्न मागसहित प्रहरीले कारबाही गर्न नसके युवा संघले आफै कारबाही गर्ने चेतावनीसमेत दिएका छन् । घटना भएको दुई साता वित्न लाग्दासमेत तोडफोड गर्नेहरु पक्राउ नपरेकाले युवा संघको तर्फबाट सिडिओलाई भेटेर प्रहरीले नसके युवा संघले आफै कारबाही गर्ने चेतावनी दिइएको नेकपा एमाले धनकुटा नगर कमिटी अध्यक्ष अर्जुन छाराहाङ्गले जानकारी दिए ।
यता, तोडफोडमा संलग्न दलहरुले भने आफ्ना नेता कार्यकर्तालाई पक्राउ नगर्न दवाव दिइरहेका छन् । तोडफोडमा संलग्न भएको भन्दै १५ जनाविरुद्ध दायर गरिएको मुद्दा फिर्ता हुँनुपर्ने र गिरफ्तारी दिएका वडाध्यक्ष निरौलालाई विनासर्त रिहाई गरिनुपर्ने उनीहरुको माग छ । यही बिषयमा दवाव दिन उनीहरुले मंगलबार पाख्रीवास बजारमा जुलुश प्रदर्शन गरेका थिए ।