धनकुटा । धनकुटाको पाख्रीवास बजारमा सोमबार साँझ राँके जुलुश प्रदर्शन गरिएको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव पक्ष र जनता समाजवादी पार्टी सम्मिलित ‘लोकतान्त्रिक गठबन्धन’ ले राँके जुलुश प्रदर्शन गरेको हो ।
पाख्रीवास नगरसभामा हुलदंगा र तोडफोड गरेको भन्दै १५ जनाविरुद्ध दायर गरिएको मुद्दा फिर्ता हुँनुपर्ने र गिरफ्तारी दिएका पाख्रीवास–४ का वडाध्यक्ष सोवित निरौलाको रिहाई माग गर्दै लोकतान्त्रिक गठबन्धन सम्बद्ध नेता कार्यकर्ताले राँके जुलुश प्रदर्शन गरेका हुन् ।
पाख्रीवासको ‘लाइब्रेरी’ नजिकबाट निस्किएको जुलुशले बजार क्षेत्रको परिक्रमा गरेको थियो । झुटा मुद्दा फिर्ता गर, वडाध्यक्षको रिहाई गर जस्ता नारा लगाउँदै निश्किएको जुलुश पाख्रीवास चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई संवोेधन गर्दै नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मुक्ति बजगाईँले नेता कार्यकर्ताहरुमाथि झुटो मुद्दा लगाइएको भन्दै विरोध जनाए ।
उनले मुद्दा फिर्ता गर्न र गिरफ्तारी दिएका वडाध्यक्ष निरौलालाई विनाशर्त रिहाई गर्न माग गरे । बजेटको सिलिङ तोकाईप्रति गठबन्धनले असन्तुष्टि जनाउँदै बुझाएको ज्ञापनपत्रलाई नगरपालिकाले वेवास्ता गरेको प्रति आक्रोस पोख्दै उनले नगरबासीको माग तत्काल संवोधन गर्न नगर प्रमुखलाई आग्रह गरेका छन् ।
मुद्दा फिर्ता र वडाध्यक्ष निरौलाको रिहाई माग गर्दै पाख्रीवासमा मंगलबार जुलुश प्रदर्शन गर्ने तयारी गरिएको छ । त्यसकै पूर्वसन्ध्यामा मसाल जुलुश निकालिएको हो । राजनीतिक पूर्वाग्रहका आधारमा बजेटको सिलिङ तोकिएको भन्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव पक्ष र जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले असार १० गते पाख्रीवास नगरपालिकाको आठौं नगरसभामा हुलदंगा र तोडफोड गरेका थिए । तोडफोडबाट आधा दर्जन झ्यालका सिसा फुटेका छन् भने दर्जनौं कुर्सी तोडफोड भएका छन् ।
घटनामा संलग्न भएको भन्दै पाख्रीवास नगरपालिकाको तर्फबाट १५ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिइएको छ । प्रहरीमा उजुरी परेपछि पाख्रीवास–४ का वडाध्यक्ष सोवित निरौलाले गत बिहिबार प्रहरी समक्ष गिरफ्तारी दिएका छन् ।


















