संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिमसुवामा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी धनकुटा नगरपालिका–३ कागतेकी जानुका कार्कीको आइतवार राती मृत्यु भएको छ । अस्पतालले उपचार सम्भव नहुँने भनेर घर पठाएकी ३० बर्षीया कार्कीको राती करिब ८ः३० बजे घरमै मृत्यु भएको हो ।

Advertisement

‘अस्पतालले उपचार सम्भव छैन भनेर फर्काइदिएपछि राती करिब ८ बजे घर ल्याइएको रहेछ ।’ धनकुटा–३ का वडाध्यक्ष विकास घिमिरेले संगालोखबरसँग भने,‘घर ल्याइपुर्याएको करिब आधा घण्टापछि मृत्यु भयो ।’ जानुका र उनका भाई गजेन्द्र धरानबाट धनकुटा आउँदै गर्दा शुक्रबार राती करिब १० बजे सिमसुवामा प्रदेश १–०६–००१ प ००५८ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

दुर्घटनामा परी जानुका गंभीर घाइते भएकी थिइन् भने मोटरसाइकल चालक भाई २५ बर्षीय गजेन्द्र सामान्य घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि राती नै विराटनगरस्थित विराट नर्सिङ्ग होम पुर्याइएको थियो । गंभीर घाइते जानुकालाई आइसीयूमा राखेर उपचार भइरहेको थियो भने भाइ गजेन्द्रलाई भने शनिवार वेलुका अस्पतालले डिस्चार्ज दियो ।

टाउकोसहित शरिरका बिभिन्न भागमा चोट लागेर अचेत अवस्थामा रहेकी जानुकाको स्वास्थ्यमा सुधार हुँने अवस्था नरहेको भन्दै डाक्टरले घर लैजान भनेपछि उनलाई घर फर्काइएको थियो । घर पुर्याएको केही समयपछि नै उनको मृत्यु भएको हो । जानुका इटहरी बस्दै आएकी थिइन् । गजेन्द्र शुक्रबार कामको सिलसिलामा धरान झरेका थिए । जानुका धरान आएर भाइसँगै मोटरसाइकलमा धनकुटा आउँदै गर्दा दुर्घटना भएको हो ।

सडकमा थुपारिएको वालुवामा चिप्लिएर मोटरसाइकल दुर्घटना भएको बताइएको छ । वालुवामा चिप्लिएर मोटरसाइकल पल्टिँदा जानुका रोडमा पछारिएकी थिइन् भने गजेन्द्र वालुवाको थुप्रोमा परेका थिए । वालुवामा परेका कारण गजेन्द्रको शरिरका बिभिन्न भागमा सामान्य चोटपटक लागेको छ भने सडकमा पछारिएकी जानुकाको अनुहार, टाउको लगायत शरिरका बिभिन्न भागमा चोट लागेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!