- रबिन कटेल/संगालोखबर
फाइल तस्वीर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ चानुवामा आज विद्युत लाईनमा ‘हाइभोल्टेज’ प्रवाह हुँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका छन् ।

बिहान करिब ११ बजे महालक्ष्मी–४ चानुवास्थित भुटडाँडा, नेवार गाउँ, जिमी गाउँ, गैरी गाउँ, झिलिमिली लगायत क्षेत्रको विद्युत लाइनमा ‘हाइभोल्टेज’ प्रवाह भएको हो । विद्युत लाइनमा क्षमताभन्दा बढी विद्युत प्रवाह भई करेन्ट लाग्दा चानुवा–४ भुटडाँडाका ५२ बर्षीय चन्द्रबहादुर कार्कीको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख गोविन्द अधिकारीले जानकारी दिए । मोवाइल चार्ज गर्ने क्रममा विद्युत लाइनमा हाइभोल्टेज प्रवाह भएर करेन्ट लाग्दा कार्कीको घटनास्थलमै मृत्यु भएको हो ।

Advertisement

करेन्ट लागेर नेवार गाउँका ५५ बर्षीया बमकुमारी श्रेष्ठ, ६१ बर्षीय पदमबहादुर श्रेष्ठ, ९ बर्षीय सावित्रा निरौला र जिमी गाउँका ६ बर्षीय लाजिहाङ्ग जिमी गंभीर घाइते भएका छन् । टिभीको प्लग जोड्ने क्रममा जिमीलाई करेन्ट लागेको हो भने वाँकी ३ जनालाई मोवाइल चार्ज गर्ने क्रममा करेन्ट लागेको हो । उनीहरुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

त्यस्तै, गैरी गाउँकी २० बर्षीया रमा रोक्का, ४२ बर्षीया लिलादेवी भण्डारी, २१ बर्षीया शुष्मा शिवा, ४३ बर्षीय उमेश शिवा, जिमी गाउँकी ६० बर्षीया मोतीमायाँ जिमी, १८ बर्षीया सम्झना लिम्बू, १७ बर्षीया सुजा जिमी, १३ बर्षीय सुरेन जिमी र नेवार गाउँका ४५ बर्षीय यज्ञबहादुर श्रेष्ठ, उनकी छोरी १६ बर्षीया नेत्र श्रेष्ठ र झिलिमिलिका २३ बर्षीय तारा कटुवाल करेन्ट लागेर घाइते भएका छन् ।
विद्युत लाइनमा एक्कासी हाइभोल्टेज प्रवाह हुँदा गाउँभर क्षति पुगेको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जानकारी दिए । ‘गाउँभर एक्कासी हाइभोल्टेज गएर धेरै क्षति पुर्याएको छ,’ मेयर नेपालले संगालोखबरसँग भने,‘एक जनाको मृत्यु भयो, १५ जना घाइते छन् । भौतिक क्षतिको विवरण संकलन हुँदैछ ।’

सो क्षेत्रमा दुई दिनदेखि बत्ती थिएन । बत्ती आउँनासाथ बिद्युतीय सामाग्री चार्ज गर्ने क्रममा धेरैलाई करेन्ट लागेको हो । हाइभोल्टेज प्रवाह हुँदा धेरै घरमा मोवाइल, टिभी, वत्ति लगायत सामाग्री जलेका छन् । क्षतिको यकिन विवरण आउँन बाँकी छ । यता, कसरी हाइभोल्टेज गयो भन्ने विषयमा अनुसन्धान भइरहेको विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्रका प्रमुख दिपक सापकोटाले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!