म्याग्दी, २२ फागुन । म्याग्दीको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा स्वास्थ्यचौकीको सुविधासम्पन्न भवन निर्माण भएको छ ।
शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीले रु दुई करोड छ लाखको लगानीमा भूकम्पप्रतिरोधी क्षमताको दुईतले पक्की भवन निर्माण गरेको हो ।
विसं २०७१ पुसदेखि शुरु भएको भवनको मङ्गलबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र जग्गादाता सुखबहादुर तिलीजा पुनले उद्घाटन गर्नुभयो । भवन निर्माणपछि सेवा प्रवाहमा सहज भएको स्वास्थ्यचौकीका प्रमुख चाँदनी गुरुङले बताउनुभयो ।
यसअघि राम्चेस्थित सामुदायिक भवनको दुई साँघुरो कोठामा स्वास्थ्यचौकी सञ्चालन हुने गरेको थियो । नयाँ भवनमा प्रशासनिक, खोप, गर्भजाँच, क्षयरोग, परिवार नियोजन, ड्रेसिङ, स्वास्थ्य परीक्षण, नाम दर्ता, औषधि भण्डारण, औजार निर्मलीकरण, प्रसूति, औषधि वितरणलगायत ११ कोठा छन् ।
सभाहल र दुई परिवार कर्मचारीका लागि तीन/तीन कोठा पनि छन् । स्वास्थ्यचौकीले इन्टरनेटको प्रयोग गरेर टेलिमेडिसीन सेवा पनि सञ्चालन गरेको छ । १८ महीनामा सम्पन्न गर्ने लक्ष्य भए पनि भौगोलिक विकटता, भूकम्प, नाकाबन्दी र प्रतिकूल मौसमका कारण ढिलाइ भएको निर्माण कम्पनी मृतक–सञ्जिवनीका प्रतिनिधि विनोद भट्टचनले बताउनुभयो ।
अपाङ्गमैत्री भवन निर्माणका लागि दुई परिवारले छ रोपनीभन्दा बढी जग्गा उपलब्ध गराएको वडाध्यक्ष खमबहादुर गर्बुजाले बताउनुभयो । उद्घाटन समारोहमा दुई रोपनी १२ आना तीन पैसा तीन दाम जग्गा उपलब्ध गराएका सुखबहादुर तिलिजा र तीन रोपनी तीन आना तीन पैसा तीन दाम जग्गा उपलब्ध गराउनुभएका चन्द्रबहादुर तिलीजाका परिवारलाई सम्मान गरिएको थियो ।
उद्घाटन समारोहमा जिसस प्रमुख केसी, गाउँपालिकका अध्यक्ष डमबहादुर पुन, प्रजिअ लीलाधर अधिकारी, उपाध्यक्ष केशमाया मगरलगायतले भवनमा आवश्यक उपकरण र जनशक्तिको व्यवस्थापन गरेर प्रभावकारी सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभएको थियो । राम्चे अन्नपूर्ण गाउँपालिकाको विकट बस्ती हो ।