संगालोखबर सम्वाददाता

सोलुखुम्बु, १६ पुस । बिराटनगरको नोबेल शिक्षण अस्पतालले हिमाली जिल्ला सोलुखुम्वुको विकट गाउँमा शल्यक्रियासहितको स्वास्थ्य शिविर सञ्चालन गरी एघार सय बिरामीको निःशुल्क उपचार गरेको छ । सोलुखुम्वुको अत्यन्तै विकट स्थान भनेर चिनिने महाकुलुङ गाउँपालिकाको वुङमा सञ्चालन गरिएको शिविरबाट १ हजार ७५ जना बिरामीले निःशुल्क उपचार सेवा पाएका हुन् ।

Advertisement

पूर्वी नेपालका बिभिन्न स्थानमा नियमित स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नोबेलले महाकुलुङ गाउँपालिकासँग सहकार्य गरेर बुङ स्वास्थ्य चौकीमा शिविर गरेको हो । शिविरमा १७ जना विरामीको आँखाको शल्यक्रिया गरिएको नोबेल शिक्षण अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । उनका अनुसार २ सय ३ जनाको भिडियो एक्सरे, १ सय ४७ जनाको ईसीजी र ३ सय १० जनाको रगत परिक्षण गरिएको छ ।

त्यस्तै २१ जनाको दाँत फुकाल्नुका साथै ४ सय ५५ जनाको रक्तचाप परिक्षण गरिएको छ । शिविरमा आँखा रोग, हाडजोर्नी, मानसिक रोग, बालरोग, स्त्रीरोग, नाक कान घाँटी र छाला रोगका बिरामी बढी मात्रामा आएका थिए । उपचारका लागि धेरै बिरामीहरु दुई दिनसम्मको बाटो हिडेर शिविरमा आएको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किरातीले बताए ।

गाउँमा पुगेका बिशेषज्ञ डाक्टरबाट उपचार गराउँनका लागि हिड्न नसक्ने बिरामीलाई पनि डोकोमा बोकेर ल्याईएको थियो । कोक्रोमा रहेका बालबालिका र थला परिसकेका बृद्धबृद्धालाई पनि उपचारका लागि शिविरमा पुर्याईएको थियो । शिविरमा बिरामीहरुलाई औषधिसमेत निःशुल्क वितरण गरियो ।

स्वास्थ्य शिविरका लागि नोबेलबाट २७ जना बिशेषज्ञ डाक्टरहरुको टोली बुङ पुगेका थिए । बिराटनगरबाट गएको डाक्टरहरुको टोली सोलुखुम्वु सदरमुकाम सल्लेरीबाट करिव ७० किलोमिटर टाढा रहेको सो स्थानमा पुग्दा स्थानीयबासीले भव्य स्वागत गरे । सो स्थानका बासिन्दाले सामान्य उपचारका लागि दिन माया मारेर सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।

राम्रो उपचारका लागि तराई वा काठमाण्डौ पुग्दै आएका महाकुलुङबासीले गाउँमै बिशेषज्ञ डाक्टरबाट उपचार पाउँदा धेरै राहत मिलेको प्रतिक्रिया दिएका छन् । ‘बिरामी हुँदा उपचारका लागि धेरै समस्या हुँदै आएको छ ।’ उपचारका लागि आएका स्थानीय भुपबहादुर थापाले भने ‘ठुला–ठुला डाक्टरहरु गाउँमै आएर उपचार गर्दा धेरै सजिलो भयो ।’

नोबेल शिक्षण अस्पतालले ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी पूर्वी नेपालका बिभिन्न स्थानमा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्…

तस्वीरहरु…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!