
विराटनगर । युनाइटेड अरब इमिरेट्स (युएई) मा मारिएका नेपाली नागरिकको परिचय खुलेको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले आज दिएको जानकारी अनुसार इरानको ड्रोन हमलामा परी गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्यु भएको हो ।
अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत श्रेष्ठको दुःखद निधन भएको सम्बन्धमा युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको राजदूतावासले उल्लेख गरेको छ ।
दूतावासले दिवंगत श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त श्रद्धाञ्जली अर्पण गरेर शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । मृतकको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता पठाउने प्रक्रियामा आवश्यक सहजीकरण गरिने राजदूतावासले जनाएको छ ।
संवेदनशील परिस्थितिमा अबुधाबी तथा युएईमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन, सुरक्षित स्थानमा बस्न तथा स्थानीय प्रशासनले जारी गरेका सुरक्षा निर्देशिकाहरूको पूर्णपालना गर्न राजदूतावासले आग्रह गरेको छ ।


संगालोखबर 















