
सुनसरी । ‘फिल्म अस्त्र’ ले ग्रामीण नेपालको बदलिँदो सामाजिक यथार्थ र किसानका समस्यालाई समेटेर नयाँ सर्ट फिल्म सार्वजनिक गरेको छ । पूर्वी भित्री मधेश क्षेत्रका वास्तविक घटनाहरूलाई चित्रण गरिएको यस सर्ट फिल्मको छायांकन सुनसरीको चतरा तथा चक्रघट्टी वरपरका क्षेत्रमा गरिएको हो ।
फिल्मले वैदेशिक रोजगारीका कारण गाउँघर रित्तिँदै जाँदा उब्जिएको समस्यालाई मुख्य विषय बनाएको छ । गाउँमा जनशक्तिको कमी भइरहेका बेला खेतबारीमा मकै लगायतका बालीमा बाँदर र सुगाले पुर्याउने क्षति तथा त्यसबाट किसानले भोग्नुपरेको पीडालाई कथामा सूक्ष्म रूपमा उतारिएको छ ।
आधुनिक विकासका सुविधाहरू गाउँसम्म प्रभावकारी रूपमा नपुग्दा कृषिमा आधारित जीवन झन्-झन चुनौतीपूर्ण बन्दै गएको सन्देश पनि यसले प्रवाह गरेको छ । कृषिको कठिन यथार्थका साथै सर्ट फिल्ममा नयाँ पुस्ताको सोच, प्रेम, सम्बन्ध र विद्यार्थी जीवनका अनुभवहरूलाई पनि समेटिएको छ ।
मकैबारीमा सुगाले मकै खाइदिँदा किसानले भोग्ने पीडालाई प्रेमको प्रतीकात्मक कथासँग जोडेर कलात्मक रूपमा प्रस्तुत गरिएको निर्देशक चक्र ए. चेतले जानकारी दिए । ग्रामीण परिवेश र मानवीय सम्बन्धको यो संयोजनले दर्शकलाई सोच्न बाध्य बनाउने निर्माण टिमको भनाइ छ ।
चक्र ए. चेतको लेखन तथा निर्देशनमा बनेको यस फिल्ममा अनमोल क्षेत्री अधिकारी, रस्मी उप्रेती, रमेशचन्द्र न्यौपाने, कौशल बुढाथोकी, सायोरी थापा र सुनिला थापा खड्काको अभिनय छ । अंकित काफ्ले मुख्य सहायक निर्देशक रहेको फिल्मको छायांकन तथा सम्पादन भुपाल सिङ देवानले गरेका हुन् भने ध्वनि डिजाइन चक्र ए. चेत र शालिग्राम रेग्मीको रहेको छ ।

संगालोखबर 

















