
धनकुटा । ‘पूर्वाञ्चल गट ट्यालेन्ट सिजन-७’ को फाइनलमा गायनतर्फ झापाका सुज्ञान खनाल, नृत्य जुनियरतर्फ झापाकी सुम्निमा राई र नृत्य सिनियरतर्फ पाँचथरका शिशिर नेम्वाङ र सेमिना लिम्बू विजयी भएका छन् ।
धनकुटाको तल्लो टुँडिखेलमा शनिबार राति सम्पन्न प्रतियोगितामा उनीहरू विजेता भएका हुन् । प्रतियोगितामा गायनतर्फ पाँचथरका पवन राई द्वितीय र झापाकी दिव्या लाम्गादे तृतीय भएका छन् ।
नृत्य जुनियरतर्फ झापाकी समता श्रेष्ठ द्वितीय र पाँचथरका याण्ङछुम जबेगु र सोनाक्षी मगर तृतीय भएका थिए भने नृत्य सिनियरतर्फ मोरङकी गरिमा मगर द्वितीय र कल्चर भाइब्स ग्रुप धनकुटा र पाँचथरकी चाँदनी जबेगु तृतीय भए ।
गायनतर्फ प्रथम हुनेलाई नगद ५ लाख रुपैयाँ र सोही बराबरको जीवन बीमा प्रिमियम, म्युजिक रेकर्डिङ अवसर, गिफ्ट ह्याम्पर, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई क्रमशः १ लाख र ५० हजार रुपैयाँसहित अन्य सुविधा प्रदान गरिएको छ ।
नृत्यतर्फ भने दुई उमेर समुहका प्रथमलाई जनही २ लाख ५० हजार रुपैयाँ र दास्रो हुनेलाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । तेस्रो हुनेलाई जनही २५ हजार प्रदान गरिएको छ ।
गत असार २० गतेदेखि सुरु भएको प्रतियोगितामा कोशी प्रदेशका १४ वटै जिल्लाका करिब ६ सय बढीले भाग लिएका थिए । जसमा ४ सय ३० जनाले प्रारम्भिक चरणमा सहभागिता जनाएका थिए ।
मेघा अडिसनपछि छनोट भई ३१ जना प्रतिभा अन्तिम चरणमा प्रवेश गरेका थिए । जसमा गायनतर्फ १४, नृत्य सिनियरतर्फ ९ र जुनियरतर्फ ८ जना प्रतिस्पर्धी रहेका थिए । प्रतियोगितामा निर्णायक र भोटिङबाट ५०/५० प्रतिशत अंक प्रदान गरिएको थियो ।
प्रतियोगिताको नृत्यतर्फ युसिन यस्माली मगर, सुशान्त लिम्बु र दिपेश मगर तथा गायनतर्फ जुनी खालिङ राई, दिनेश भारती र महेश राई निर्णायक थिए । स्थानीय कला, संस्कृति र युवाहरूको प्रतिभालाई उजागर गर्ने उद्देश्यसहित प्रतियोगिता गरिएको कार्यक्रम संयोजक सुमन योगीले बताए ।
उनका अनुसार विशेषगरी ग्रामीण भेगमा लुकेर रहेका प्रतिभालाई पहिचान गर्दै उनीहरूलाई राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य रहेको बताए । प्रतियोगिताको फाइनलमा विशेष आकर्षणका रूपमा कलाकार डिजी राज पौडेल र ‘द भ्वाइस अफ नेपाल सिजन-६’ का प्रतियोगी विराट तामाङको प्रस्तुति रहेको थियो ।
टिन्स क्रु डान्स ट्रेनिङ सेन्टर धनकुटाले २०७३ मा पूर्वाञ्चल डान्सिङ सुपरस्टार तथा २०७४, २०७६, २०७८, २०८० र २०८१ मा पूर्वाञ्चल गट ट्यालेन्ट प्रतियोगिता सम्पन्न गरिसकेको छ ।
टिन्स क्रु डान्स ट्रेनिङ सेन्टर धनकुटा र रिक्रियशन मल्टिमिडिया एण्ड इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगिताको फाइनलमा गायनतर्फ १४, नृत्य सिनियरतर्फ ९ र जुनियरतर्फ ८ जना प्रतिस्पर्धीको सहभागी रहेको थियो ।

सन्तोष सुवेदी/संगालोखबर 























