संगालोखबर संवाददाता

पोखरा, २ असोज । सरकारले पोहोर कात्तिकमा धार्मिकस्थलको भेटी व्यवस्थान निर्देशिका जारी गर्‍यो। त्यो निर्देशिकाले धार्मिक स्थलहरुबाट सिधै पुजारीको पोल्टामा जाने भेटीलाई व्यवस्थापन गर्न खुकुलो बनाइदियो।

Advertisement

धार्मिकस्थलको भेटी व्यवस्थापनको जिम्मा संरक्षण तथा व्यवस्थापन समितिले लिनसक्ने निर्देशिकाको एउटा बुँदामा थियो। त्यही निर्देशिकामा टेकेर विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सरकारको स्वीकृति लिएर भेटी व्यवस्थापन र आचारसंहिता तथा कार्यविधि बनायो कार्यविधि तथा आचारसंहिताले मन्दिरको आन्तरिक व्यवस्थापनदेखि सबै भेटी लैजाने पुजारीलाईसमेत मातहतमा ल्याउने काम भयो।

पुजारीलाई तलबमा नियुक्त गरिएपछि मन्दिरको आम्दनी बढेको छ। विन्ध्यवासिनीले साउन १ गते तलबमा पुजारीलाई नियुक्त गरेको थियो। साउन महिनामा मूल मन्दिरबाट मात्रै ४ लाख रुपैयाँभन्दा बढी आम्दानी मन्दिरको पोल्टामा परेको छ भने सोही महिनामा ३९ लाख रुपैयाँ मन्दिरबाट विकास समितिले आम्दानी गर्न सफल भएको हो।

जबकि यसभन्दा अघि दानपेटीकाबाट १ लाख रुपैयाँमात्रै मन्दिरको आम्दानी हुने गरेको थियो। ‘निर्देशिकाको आधारमा हामीले आचारसंहिता तथा कार्यविधि निर्माण गर्‍यो ।

साउन १ गतेबाटै पुजारी नियुक्त ग¥यौं,’ समिति सचिव तीर्थ श्रेष्ठले भने, ‘समितिको निर्णय विरुद्धमा सर्वोच्चमा मुद्दासमेत पर्यो। अदालतले अन्तरिक आदेश जारी गर्न नपर्ने भनेर समितिकै पक्षमा आदेश दियो।’

साउन १ गते नै २ पुजारी समितिको निर्णयअनुसार काम गर्न इच्छुक रहेको बताएका थिए। भदौ १ गते फेरि २ पुजारी नियुक्त गरिएको छ। अहिले विन्ध्यवासिनीमा रुद्रनाथ पौडेल मूल पुजारीको रुपमा छन्।

उनको तलब मासिक ३५ हजार रुपैयाँ तोकिएको छ भने अन्य ३ पुजारी माधव पौडेल, कृष्णप्रसाद शर्मा र सुशील शर्मालाई ३० हजार रुपैयाँ तोकिएको छ।

समितिले प्रत्येक दिनको मन्दिरको भेटीको हिसाब सार्वजनिक गर्ने भएको छ। ‘अघिल्लो दिनको हिसाब भोलिपल्ट सबैले देख्ने ठाउँमा सार्वजनिक गछौं,’ सचिव तीर्थले भने।

३ सय वर्ष हाराहारी पुरानो र पुरातात्विक महत्वको विन्ध्यवासिनी मन्दिरको जीर्णोद्वारदेखि विभिन्न पूर्वाधार निर्माणको काम समितिले नै गर्दै आएको छ। तर, मन्दिरको भेटीमा समितिको हकाधिकार नहुँदा पुजारीको पोल्टामा पर्दै आएको थियो।

‘विन्ध्यवासिनी मन्दिर क्षेत्रमा मर्मतसम्भार, पुनर्निमाण वा नयाँ निर्माणको कामका लागि धार्मिक क्षेत्र विकास समितिले दान चन्दाको भर पर्नुपरेको थियो,’ अध्यक्ष गणेशबहादुर श्रेष्ठले भने, ‘अब भेटीको व्यवस्थापनको काम समितिले गर्न थालिसकेको छ। आचारसंहिता नमान्ने पुजारीलाई अब समितिले जुनसुकै बखत हटाउन सक्ने नियम समेत बनाइएको छ।

१८४४ सालमा कास्कीका राजा सिद्धिनारायण शाहले महेन्द्र पाध्या पौडेललाई लालमोहर दिई पुजारीको जिम्मेवारी सुम्पेको बताइए पनि त्यसको एकिन तथ्य भने छैन। त्यही लालमोहरका आधारमा पाध्याका सन्तानले मन्दिरको पूजाआजा गर्दै दक्षिणा पनि आफै लिने गरेका थिए।

समितिले भेटी व्यवस्थापनसँगै मन्दिरमा सिसी क्यामरा समेत जडान थालेको छ। ‘२ वटा सिसी क्यामराले काम गर्ना थालिसेकेको। अब छिट्टै थप १२ सिसी क्यामरा जडान हुनेछन्,’ अध्यक्ष श्रेष्ठले भने।-नेपालखवर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement