संगालोखबर संवाददाता

 काठमाडौं । सामान्य ज्वरो आउँदा, टाउको दुख्दा वा शारीरिक समस्या हुनासाथ हामी यसबाट उम्कने सजिलो उपाय खोज्छौ, पेनकिलर । कतिपयले त सामान्य दुखाइमा समेत पेनकिलर सेवन गर्छन् ।

Advertisement

बच्चालाई ज्वरो आउँदा, खोकी लाग्दा समेत औषधी ख्वाउन हतारिन्छौ । तर, हाम्रो यो प्रवृत्ति शारीरिक स्वस्थ्यका लागि एकदमै घातक हुनसक्छ । चिकित्सकहरुले स्वीकार्ने गरेका छन्, ‘जथाभावी पेनकिलरको प्रयोग खतरनाक हुन्छ ।’

यद्यपि हामीकहाँ चिकित्सकले त्यस्ता औषधीलाई निषेध भने गरेका छैनन् । कतिपय अवस्थामा उनीहरुले समेत त्यही औषधि सिफारिस गर्छन्, जसले क्षणिक रुपमा रोग त निको हुन्छ ।

तर, दीर्घकालीन असर भने भयावह हुन्छ ।पेनकिलर सेवनले तत्कालै हुने साइट इफेक्ट भनेको पेट दुख्नु, सुन्निनु, ग्याष्ट्रिक हुनु हो । तर, दीर्घकालीन रुपमा त्यसले कलेजो र मिर्गौलालाई नराम्ररी क्षति पुर्‍याउँछ, जसको उपचार महंगो मात्र होइन, असम्भव पनि हुन सक्छ ।

फ्लेक्जन, ब्रुफिन, ब्रुसेट कति खतरनाक ?

सामान्य दुखाई, ज्वरो कम गर्न धेरैले फ्लेक्जन, ब्रुफिन, ब्रुसेट जस्ता औषधि सेवन गर्छन् । हामीकहाँ यस्ता औषधि बजारमा सहजै पाइन्छन्, खुलमखुला । र, धेरैलाई के लाग्छ भने यी औषधीले दुखाई कम हुन्छ । रोग निको हुन्छ । तर, धेरैले नबुझेको सत्य के भने, यी औषधि वास्तवमै हानिकारक र घातक हुन् । हामीले औषधिको नाम वा विमारको प्रकृति भन्नसाथ औषधी पसलेले समेत त्यस्ता औषधि भिराइदिन्छन्, जो विष समान हुन्छ । त्यसैले यस्ता औषधि हामी अन्धधुन्दा सेवन गरिरहेका छौं । हामी आफुमात्र होइन, बच्चालाई समेत सेवन गराइरहेका छौ । यसले उनीहरुको कलेजो, मृगौलामा निकै हानी/नोक्सानी पुर्‍याइरहेको हुन्छ ।

कसरी खतरनाक ?

ब्रुफिन, बु्रसेट, फ्लेक्सोन लगायतका औषधिमा प्यारासिटामोल ५ सय एमजी का साथमा आई बीयू ४ सय एमजीको समिश्रण रहेको हुन्छ । यस्ता समिश्रणयुक्त औषधीले स्वास्थ्यका लागि विष समान हो । त्रि.वि शिक्षण अस्पतालका पर्माकोलोजिस्ट डा. संगरत्न बज्राचार्य स्वीकार्छन्, ‘समिश्रणयुक्त औषधी हानिकारक हुन्छ ।’उनी के पनि थप्छन् भने, ‘जब ज्वरोका लागि प्यारासिटामोलले नै काम गर्छ भने त्यसको ठाँउमा आई बीयू ४ सय एमजीसमेत भएको फ्लेक्जोनको सेवनले स्वास्थ्यमा त असर पार्छ नै ।’

यी औषधिको जथाभावी प्रयोगले रोग प्रतिरोधात्मक क्षमता कम हुनुका साथै पेट पोल्ने, ग्यास्टि्रक, मिर्गौला खराब हुने लगायतका विभिन्न समस्याहरु निम्तने उनी बताउँछन् । यसबाट बच्नका लागि सकेसम्म मिश्रण नभएको औषधिमात्र सेवन गर्न समेत डा. बज्राचार्य सुझाउँछन् । उनी भन्छन्, ‘कुनै पनि औषधिको निश्चित मात्रा तथा प्रयोजन हुन्छ । तोकिएको मात्राभन्दा अधिक औषधिको प्रयोगले स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले सजग रहन जरुरी छ ।’

खुल्लमखुला बिक्री

समिश्रण गरिएको औषधि आफैंमा हानिकारक मानिन्छ । त्यस्तो औषधिले शरीरका विभिन्न अंगलाई क्षति पुर्‍याउने भय हुन्छ । विज्ञहरु यस्तै दावी गर्छन् । तर, अनौठो चाँहि के भने, यी औषधी विक्री-वितरणलाई निषेधित त के, नियन्त्रण पनि गरिएको छैन । औषधी व्यवस्था विभागले सुझाव दिएको छ, ‘त्यस्ता औषधी सेवन नगर्नुहोला ।’ तर, उनको यो सुझाव सर्वसाधारणले कसरी थाहा पाउँछन् ?

औषधि व्यवस्था विभागका औषधि व्यवस्थापक सन्तोष केसी भन्छन्, ‘यस्ता औषधि सकेसम्म त प्रयोग नगरेकै राम्रो । प्रयोग गर्नैपर्ने बाध्यात्मक अवस्थामा पनि सीमित डोज मात्र लिनुपर्छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement