संगालोखबर संवाददाता

भैरहवा, ३१ भदौ । रुपन्देहीको भैरहवा (बेलहिया) नाका हुँदै प्रवेश गर्ने ओेभरलोड बोकेका भारतीय गाडीलाई रुपन्देही प्रहरीले छुट दिएको छ । यसले आफुहरु मर्कामा परेको व्यवसायीले बताएका छन् ।

Advertisement

मुलुकभित्र ढुवानी गर्ने नेपाली नम्बर प्लेटका ट्रकलाई ओभरलोडमा कडाई गरेको प्रहरीले भारतबाट आउने भारतीय गाडीमा ओभरलोड ल्याउन छुट दिएको हो । कानुन सबैको लागि समान हुनुपर्ने भन्दै ओभरलोड नियन्त्रण गर्न व्यवसायीहरुले माग समेत गरेका छन् ।

भार मिलान सम्बन्धी कार्यविधि २०७१ तथा ओभरलोड सम्वन्धी प्रचलित कानुन अनुसार क्षमता भन्दा बढी भार बोक्नेलाई भन्सार विन्दुमै पल्टी गराउने व्यवस्था छ ।

तर, हालै मात्र रुपन्देही जिल्लाको कार्यभार समाहालेका एसपी श्यामलाल ज्ञवालीले भारतीय गाडीको ओभरलोडलाई छुट दिदाँ नेपाली व्यवसायीहरुले त्यसको आलोचना गरेका छन् ।

यसरी ओभरलोड बोकेका भारतीय गाडीलाई छुट दिएर प्रहरीले अनियमित रकम असुल गर्ने गरेको आरोप व्यवसायीको छ ।

यसअघि औद्योगिक कच्चा पदार्थ बाहेकका समान ओभरलोड भएमा पल्टी गराउने र औद्योगिक कच्चा पदार्थ बाहेकका गाडी लाई ट्राफिक प्रहरीले कार्यवाही स्वरुप जरीवाना लिँदै आएको थियो । तर जतिसुकै ओभरलोड भएपनि भारतीय गाडीको अहिले छुट दिइएको छ ।

ठूला सवारीसाधनहरु ओभरलोडका कारण दुर्घटना पर्ने गरेका छन् । यसरी प्रहरीले ओरभलोडलाई छुट दिदाँ कुनै दर्घटनामा मानविय क्षतिमा भएमा त्यसमा जिम्मेवारी प्रहरीले लिने कि नलिने भन्ने गम्भिर प्रश्न उब्जिएको सरोकारवालाहरु बताउँछन् ।

संसदको सार्वजनिक लेखा समितिले भैरहवामा आयोजना गरेको सार्वजनीक सुनुवाई कार्यक्रममा समेत ओभरलोडका कारण निर्माणधिन बेलहिया-बुटवल व्यापारिक मार्ग निमार्ण सम्पन्न नहुँदै भत्किएको गुनासो आएको थियो ।

यता बेलहिया बुटवल व्यापारीक मार्ग विस्तार आयोजनाले पनि ओभरलोडका कारण सडक भत्किएको प्रमाण सहित भैरहवा भन्सार, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी तथा ट्राफिक प्रहरीलाई पटक-पटक पत्राचार गर्दै नियन्त्रण गरिदिन आग्रह गर्दै आएको थियो । तर यस्तो पत्रलाई प्रहरीले डस्टबिनमा फालेर ओभरलोडलाई पुरा छुट दिएको गुनासो ट्राफिक प्रहरीकै छ ।

यातायात समबन्धी प्रचलित कानुन अनुसार ६ चक्के ट्रकले १० टन, १० चक्के ट्रकले १६ दशमलव ५ टन, १२ चक्के ट्रकले २१ टन र १४ चक्के ट्रकले २५ टन भन्दा बढी भार बोक्न पाउँदैनन् ।

नेपालका सडक र पुलको क्षमता अनुसार यो मापदण्ड निर्धारण गरिए पनि मालबहाक यस्ता सवारी साधनले आफ्नो क्षमता दोब्बर भार बोक्ने गरेका छन् ।

यसरी भारतीय गाडीलाई ओभरलोड छुट दिदा नेपालमा दुर्घटना बढेको र दुर्घटना गराएर भारतीय ट्रक चालकहरु भाग्ने तथा सडक, पुलपुलेसाहरु भत्किने समस्या बढ्दै गएपछि ट्रक व्यवसायीहरुले ओभरलोडको दोहोर मापदण्ड हटाउदै नियन्त्रण गर्न माग गरेका छन् ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिती र लुम्बिनी ट्रक यातायात व्यवसायी शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरीप्रसाद मैनालीलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाउदै ओभरलोड नियन्त्रण सम्बन्धी प्रचलित कानुन र विगतमा भएका निर्णयहरु कार्यान्वयन गराउन आग्रह गरेका छन् ।

‘कानुन र निर्णयको कार्यान्यवन हुनुपर्छ भन्ने हाम्रो माग हो,’ लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष बिष्णु प्रसाद खरेलले भने,’राज्यको नियम सबैलाई समान रुपमा लागु हुनु पर्छ ।’

तर रुपन्देहीको भैरहवा नाकामा नियम कार्यान्वयन हुन सकेको छैन् । पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष टिकाराम गौतमले भन्सारबाट पल्टी गराउनु पर्ने सामान समेत भारतिय गाडीबाट सीधै ढुवानी हुने गरेको भन्दै भार मिलान कार्यविधीको कार्यान्वयन नभए थप संघर्षका कार्यक्रम गरिने चेतावनी दिए ।

ज्ञापनपत्र बुझ्दै रुपन्देहीका प्रमुख जिल्ला अधीकारी मैनालीले प्रचलित कानुन र नियमको परिधिमा रहेर काम गर्ने बताए ।-अनलाइनखवर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement