रबिन कटेल

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालले जनताको पक्षमा काम गर्दा बदनियतपूर्ण तरिकाले बदनाम गर्न खोजिएको गुनासो गरेका छन् । धनकुटा र तेह्रथुमको सीमा क्षेत्र चित्रे बजारमा महालक्ष्मी नगरबासीलाई प्रहरीले अनावश्यक दुःख दिएको भन्दै महालक्ष्मी नगरपालिकाले धनकुटा सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर नेपालले यस्तो गुनासो गरेका हुन् ।

Advertisement

गत साउन १५ गते चित्रे बजारमा प्रहरी चेकपोष्ट हटाउँने बिषयमा भएको विवाद सम्बन्धि भिडियो केही व्यक्तिले सामाजिक संजाल फेसबुकमा राखेका थिए । ‘जनप्रतिनिधिले मादक पदार्थ सेवन गरी प्रहरी पोष्टमा तोडफोड’ गरेको भन्दै फेसबुकमा राखिएको भिडियोले धेरैको ध्यान खिचेको थियो । तर, जनप्रतिनिधिको बदनाम गर्ने हिसावले योजनाबद्ध रुपमा भिडियो खिचेर घटनाको यथार्थलाई तोडमोड गरी चरित्र हत्या गर्न खोजिएको भन्दै महालक्ष्मी नगरपालिकाले पत्रकार सम्मेलन गरेर घटनाको भत्सना गरेको छ । धनकुटासँगको सीमा क्षेत्र चित्रे बजारमा तेह्रथुम प्रहरीले राखेको चेकपोष्टमा खटिने प्रहरीले महालक्ष्मी नगरबासीलाई अनावश्यक दुःख दिएको आरोप छ । महालक्ष्मी नगरपालिका वडा नं.१, २, ३, ४ र ८ का बासिन्दालाई नगरपालिकाको केन्द्र जितपुर पुग्न तेह्रथुमसँगको सिमाक्षेत्र चित्रे पुग्नुपर्ने बाध्यता छ ।

आफ्नो नगरपालिकाको केन्द्र जाँदा अर्को जिल्लाबाट खटिएका प्रहरीले रोकछेक गरेर अनावश्यक दुख दिएको भन्दै सो क्षेत्रका बासीन्दाले जनप्रतिनिधिसमक्ष गुनासो गरेका थिए । नगरबासीलाई अनावश्यक दुःख दिईएको बिषयमा चित्रे प्रहरीसँग कुरा गर्दा प्रहरी र सो क्षेत्रका केही उछसृङ्खल व्यक्तिले प्रदेश सांसद, नगरका जनप्रतिनिधि र नेताहरुमाथि अभद्र व्यवहार गरेको पत्रकार सम्मेलनमा सहभागिहरुले बताए । पत्रकार सम्मेलनमा महालक्ष्मी नगरपालिकाका मेयर, उपमेयरसहित प्रभावित वडाका वडाध्यक्षहरुसमेत सहभागि थिए ।

पत्रकार सम्मेलनमा बोल्दै मेयर नेपालले जथाभावी अनावश्यक आरोप लगाएर चरित्र हत्या गर्न खोज्नेहरुलाई आरोप प्रमाणित गर्न चुनौतिसमेत दिए । ‘हामी महालक्ष्मी नगरपालिका–३ मा स्वार्गिय बखतबहादुर थापाको परिवारलाई समबेदना दिएर फर्किएका थियौ । महालक्ष्मी नगरबासीले चेकपोष्टमा अनावश्यक दुख पाएको गुनासो गरेका आधारमा चित्रे प्रहरीसँग कुरा गर्दा अनावश्यक झमेला गरियो ।’ मेयर नेपालले भने–‘जाडरक्सी खाएर लफडा गरेको भनेर फेसबुकमा लेखेको भेटियो । कुरै नबुझी कसैको चरित्र हत्या गर्ने हिसावले जथाभावी लेख्न त पाईएन नि, लखेको कुरा प्रमाणित गर्न सक्नुपर्यो ।’

मलामी हिडेका महालक्ष्मीबासीको गाडीलाईसमेत चित्रेमा चार/पाँच घण्टासम्म रोकेर दु:ख दिने गरेका कारण नगरबासीलाई अनावश्यक दु:ख नदिनु भनेर कुरा गरेको उनले बताए । तर, नगरबासीकै हितमा कुरा गर्दा केही व्यक्तिले जथाभावी आरोप लगाएर चरित्र हत्या गर्न खोजेको उनको गुनासो छ ।

अहिले मात्र नभई केही व्यक्तिले यसअघि पनि पटक–पटक सामाजिक संजालमा जनप्रतिनिधिको चरित्र हत्या गर्ने हिसावले तथ्यहिन गलत कुरा सृङ्खलाबद्ध रुपमा लेख्ने गरेको उनले बताए । ‘हामी नगरको बिकासका लागि खटिएका छौ । सबै नगरबासीको साथले मात्र नगरको बिकास हुन सक्छ ।’ सामाजिक संजालमा जथाभावी लेख्नेलाई लक्षित गर्दै मेयर नेपालले भने–‘काम गर्ने क्रममा कतै कमजोरी पनि हुन सक्छन् । सुझाव दिनुहोस्, हामी सुधार गरेर अघि बढ्छौ । तर, यथार्थ कुरा नबुझी जनप्रतिनिधिको चरित्र हत्या गर्ने हिसावले मात्र अघि नबढ्नुहोस् ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement