Sangalo Khabar

काठमाडौँ, १ साउन । आज साउने संक्रान्ति । असार सकिएर श्रावण अथवा साउन महिना शुरु भएको छ । यो भगवान शिवको महिना हो, यसै कारण पनि यो महिनाको हरेक सोमबार अविवाहित महिलाहरूले व्रत बस्ने र राम्रो वर पाऊ भनि शिवको आराधना गर्ने चलन रहि आएको छ ।

Advertisement

आज पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरहरूमा भक्तजनको विहानैदेखि भिड लागेको छ । भक्तपुरको डोलेश्वर महादेव, महोत्तरीको जलेश्वरनाथ, बारा जिल्लाको कलैयास्थित शिद्धेश्वर महादेव तथा बाराको काँटघाटधाम लगायतको बिभिन्न शिवालयहरूमा ठूलो घूँइचो रहने गर्दछ ।

साउन महिनाबारे पौराणीक व्याख्या अनुसार यसै महिनामा समुन्द्र मन्थन भएको हो र त्यपछि हलाहल विष निस्केको उल्लेख छ । संसारलाई रक्षा गर्नकालागि भगवान शिव आफैले सो विषको सेवन गरेर हिमालय पर्वतमा गएर रहेको उल्लेख छ ।

साउन महिनामा शिवलिङ्गमा जल तथा वेली पुष्प चढाएमा शिव प्रसन्न हुने मान्यता छ । सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यो दिन देखि सूर्य उत्तरी गोलार्दबाट दक्षिणि गोलार्दतर्फ प्रवेश गर्ने भएकोले दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ ।

सूर्यले आजको दिन मिथुन राशिबाट कर्कट राशि परिवर्तन गर्दछन् । कर्कट संक्रान्तिलाई श्रावण संक्रान्ति या साउने संक्रान्ति पनि भनिन्छ ।

साउन महिना र हरियो रंग
साउन महिना वैदिक सनातन हिन्दु धर्मावलम्बिहरूको पवित्र महिना हो र यस महिनाको हरेक सोमबारको विशेष महत्व रहिआएको छ ।

विशेषतः श्रावणको प्रत्येक सोमबार महिलाहरू हरियो चुरा, लुगा, पोते र हात अनि गोडामा मेहन्दीको बुट्टा लगाएर शिव मन्दिरहरूमा जल, भाङ्ग, धतूरो तथा बेली पुष्प समर्पणगरी सफलता, सु–स्वास्थ्य तथा योग्य वर पाउँ भनी व्रत बस्ने चलन रहि आएको छ ।

यो रंगीन महिनाको शुरुवात भनेकै कर्कट संक्रान्ति हो । हरियो रङ्गमा यस पर्वको विशेष अर्थ रहेको पाइन्छ । आफूले चाहेजस्तो जीवनसाथीको आकांक्षा र यसका अलावा परिवारजनमा सुख, शान्ती र कान्ती छाइरहोस् भनेर पनि रंगीन चुराहरु लाउने गरिन्छ ।

लुतो फाल्ने दिन

साउन महिनामा सूर्य कर्कट राशीमा रहने भएकोले गर्मी अत्याधीक हुन्छ र साथै निरन्तर झरि पर्नेभएकाले मान्छेहरू आवतजावत गर्दा पानीमा रुझ्नसक्ने संभावना हुन्छ । त्यसमाथि कृषी अनि कृषीकार्य गर्दा पानीमा भिज्नु, माटोमा जोतिनु अनि हिलो उछिटिनु लगभग सामान्य झै हो ।

यसर्थ गर्मी र वर्षाको यो असरले बर्षाको महिनाहरूमा चर्म तथा छालासंग सम्बन्धित रोगहरु जस्तै लुतो, दाद, घमौरा या खटिराहरू आउनसक्ने संभावना अत्याधिक हुन्छ । त्यसैले साउने संक्रान्तिलाई लुतो फाल्ने दिनका रुपमा पनि लिइन्छ ।

लुतो फाल्ने आ–आफ्नै खालका जनविश्वाश र चलन रहेको पाइन्छ । यस दिन नदि किनारमा गई शरीरमा लेसिलो पहेंलो माटो दलेर नुहाउँदा फोहोरजन्य कारणबाट आउने लुतो फालिन्छ भन्ने जनविश्वाश छ भने कसैले भान्टालाई दूलो पारेर चौबाटोमा फालिदिएर नुहाएमा समेत लुतोबाट छुटकारा पाइने जनविश्वास रहिआएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement