संगालोखबर संवाददाता

चितवन।  साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, चितवनले आफ्नो ५५औँ स्थापना दिवसको अवसरमा गामबेँसिको चेपाङ संरक्षण केन्द्रका बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ ।

वाार्षिकोत्सवको अवसरमा गरिने फजुल खर्च कटौती गरी त्यो रकम चेपाङ बालबालिकाका लागि सहयोग गरिएको साल्ट ट्रेडिङ कर्पोरेशन चितवन शाखाका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए ।

Advertisement

कार्यालयमै बसेर कर्मचारी मिलेर खर्च गर्ने परम्पराबाट माथि उठेर गरिबका लागि भोजन भन्ने मान्यतालाई अगाडि सार्दै आफूले चेपाङ बालबालिकाका लागि खाद्यान्न सामग्री प्रदान गरेको कार्यालयका प्रमुख दाहालले बताए ।

कार्यालयले गामबेँसी चेपाङ संरक्षण केन्द्रमा रहेका १०२ बालबालिकाका लागि १५ दिनसम्म पुग्ने चामल, दाल, केराउ, आलु तरकारीलगायतको खाद्य सामग्री र केही बालबालिकाका लागि झोला वितरण गरेको हो ।

केही दिनदेखि खाद्यान्न अभाव भएर समस्या भएका बेला खाद्यान्न सहयोगले बालबालिकालाई ठूलो राहत मिलेको संरक्षण केन्द्रका प्रमुख केपीकिरण शर्माले बताए ।

आफूले निकै दुःख र कठिनाइका बाबजुद पनि चेपाङ बालबालिकाको शिक्षा र पालनपोषणमा लागेको बताउँदै उहाँले अन्य निकायले पनि चेपाङ बालबालिकाको संरक्षणमा सहयोग गर्न आग्रह गरे ।

विभिन्न जिल्लाका स्कुल शिक्षाबाट वञ्चित हुँदै आएका ती चेपाङ बालबालिका अहिले रत्ननगरमा बसेर पठनपाठन गर्दै आएका छन् । बालबालिकालाई विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा संरक्षण केन्द्रले पालनपोषण र शिक्षा दिँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement