रबिन कटेल

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधबार विराटनगरमा प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई २० बुँदे मागपत्र पठाएको छ । बजारमा विरोध प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका राप्रपाका नेता कार्यकर्ताले प्रमुख जिल्ला अधिकारी काशीराज दाहालमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाएका हुन् ।

Advertisement

संसारी माइस्थानमा सयौँको सङ्ख्यामा भेला भएर निस्किएका नेता कार्यकर्ताहरूले ब्यानर, प्लेकार्ड र झण्डा बोकेर बजारमा विरोध जुलुस प्रदर्शन गरे । ‘राजा ल्याउँ देश बनाऔ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, सनातन हिन्दु राष्ट्र कायम गर, भ्रष्टाचारी मुर्दावाद, मूल्यवृद्धि बन्द गर’ जस्ता नारा लगाउँदै उनीहरूले बजारमा प्रदर्शन गरेका हुन् । संसारी माइस्थानवाट ट्राफिक चोक, गोल्छा चोक हुँदै उनीहरु जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

उनीहरूले जिल्ला प्रशासन कार्यालय अगाडि पनि नारावाजीसहित केही समय प्रदर्शन गरे । राप्रपाका जिल्ला अध्यक्ष माधवप्रसाद आचार्यले प्रशासनको गेटमा प्रमुख जिल्ला अधिकारी दाहाललाई २० बुँदे मागसहितको ज्ञापनपत्र हस्तान्तरण गर्दै प्रधानमन्त्री समक्ष पुर्याइदिन आग्रह गरेका हुन् ।

ज्ञापनपत्रमा किसानलाई मल र बिउ तत्काल उपलब्ध गराउँनुपर्ने, पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्यवृद्धि रोक्नुपर्ने, भ्रष्ट्राचार नियन्त्रण गर्नुपर्ने, शिक्षा, स्वास्थ्यलाई निःशुल्क गर्नुपर्ने र विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने माग गरिएको छ । धर्मनिरपेक्षता खारेज गरी नेपाललाई पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने, राजसंस्थासहित सबै राजनीतिक शक्ति अटाउने प्रजातन्त्र कायम गरी जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था गर्नुपर्ने र खर्च घटाउन प्रादेशिक तह खारेज गर्नुपर्ने माग पनि राप्रपाले अघि सारेको छ ।

त्यस्तै, मुलुकलाई एउटै निर्वाचन क्षेत्र कायम गरी सांसदको निर्वाचन पूर्ण समानुपातिक गराइनुपर्ने, एक परिवार एक रोजगारीको व्यवस्था गर्नुपर्ने, बेरोजगारलाई भत्ता दिनुपर्ने, भूमिहीन तथा सुकुम्वासीको स्थायी समाधान खोज्नुपर्ने, पुस २७ गतेलाई पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मानी सार्वजनिक बिदा दिनुपर्ने माग गरिएको छ ।

ऐतिहासिक व्यक्तिहरूका भत्काइएका सालिकहरू पुननिर्माण गर्नुपर्ने, राजनीतिक नियुक्ति रोक्नुपर्ने, नेपाली भूमि फिर्ता लिन कूटनीतिक पहल गर्नुपर्ने, स्थानीय तहका अव्यवहारिक तथा दोहोरो कर खारेज गर्नुपर्ने र विदेशमा रहेका नेपालीलाई आगामी निर्वाचनमा मतदान गर्ने व्यवस्था मिलाउनुपर्ने माग गरिएको छ ।

जुलुसका क्रममा भएको कोणसभालाई संवोधन गर्दै राप्रपाका केन्द्रिय सहप्रवक्ता दिनेश शाह, केन्द्रिय सदस्य होम गौतम, जिल्ला अध्यक्ष आचार्य, जिल्ला सल्लाहकार दिलिप धाडेवा लगायतले माग संवोधन नभएमा आन्दोलन चर्काउँने चेतावनी दिएका छन् । ७७ वटै जिल्लावाट वुधवार एकैसाथ प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएर माग संवोधनका लागि दवाव दिइएको राप्रपाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement