संगालोखबर संवाददाता

बिर्तामोड, १० कात्तिक । बालक हत्याका दोषीलाई कारबाहीको माग गर्दै स्थानीयवासीले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाउदा झापाको बिर्तामोडमा एक जनाको मृत्यु भएको छ ।

Advertisement

घाईते १० जनामध्ये ७ जनाको अवस्था गम्भीर छ । स्थिति नियन्त्रणबाहिर गएको भन्दै स्थानीय प्रशासनले बिर्तामोड क्षेत्रमा साढे एक बजे कर्फ्यु लगाएपछि भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा अर्जुनधारा ११ का ३२ बर्षिय नवराज (राजेश) थापाको मृत्यु भएको हो ।

घाटीमा गोली लागेका उनलाई उपचारका लागि भद्रपुरस्थित मेची अञ्चल अस्प्ताल लैजादै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीको गोली लागि गम्भीर घाइते ३ जनाको भद्रपुरस्थित मेची अञ्चल र अन्य ६ जनाको बी एण्ड सी लगायत बिर्तामोडका निजी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई शरिरका बिभिन्न भागमा गोली लागेको छ । प्रहरीले भने कर्फ्युका समय मृतक बालकका आफन्त तथा स्थानीयवासीले इलाका प्रहरी कार्यालय तोडफोडको प्रयास गरेपछि बाध्य भएर गोली चलाएको बताएको छ । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय परिषरमा रहेको एउटा भवन र रोकि राखेका आधादर्जन गाडीमा आगजनी गरेका छन् ।

अर्जुनधारा ११ का ११ बर्षिय लक्ष्मण सिवाकोटीको हत्या भएको एक महिना हुन लाग्दा समेत अनुसन्धानमा प्रहरीले चासो नदेखाएको भन्दै आफन्त तथा स्थानीयवासीले बिर्तामोड क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शन हिंसात्मक बनेको भन्दै प्रशासनले बिर्तामोड नगरपालिकाको पूर्वमा वसपार्क, पश्चिममा चारपाने, उत्तरमा महानन्द चोक र दक्षिणमा विर्तावजारसम्म अर्को सुचना जारी नभएसम्मका लागि कर्फ्यु लगाएको प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिनुभयो ।

बिर्तामोड बन्दको आब्हान गरी सुरु भएको प्रर्दशन प्रहरी अवरोध छिचोल्दै मुक्ती चोक पुगेलगत्तै प्रहरीले लाठी चार्ज र हवाईफायर गरेको थियो ।

गत असोज १४ गते विजया दशमीका दिन वेपत्ता भएका अर्जुनधारा ११ का ११ बर्षिय लक्ष्मण सिवाकोटीको शव भोलीपल्ट बिर्तामोड–१ वैसावाडीस्थित झाँडीमा भेटिएको थियो ।

विर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिनुभएको हो ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । यद्यपी हत्या भएको झण्डै १ महिना हुन लाग्दा समेत प्रहरी अनुसन्धान प्रभावकारी नभएको भन्दै आफन्त तथा स्थानीय आज प्रदर्शनमा उत्रिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement