पोखरा, ७ फागुन ।  भूतपूर्व खेलाडी मञ्च नेपालद्वारा यहाँ आयोजित १२ औँ सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा विभागीय धावकको वर्चश्व रहेको छ ।

Advertisement

प्रतियोगितामा नेपाल प्रहरीका भूमिराज राईले ४२.१९५ किमीको दूरी दुई घण्टा ३६ मिनेट ४२.२ सेकेण्डमा पूरा गरेर प्रथम भई रु ७० हजार प्राप्त गरे । यसैगरी नेपाली सेनाका हरिकुमार रिमालले दुई घण्टा ३८ मिनेट ४६.१ सेकेण्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गरी रु ४५ हजार प्राप्त गरे । दुई घण्टा ३९ मिनेट ३२.४ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो भएका नेपाली सेनाकै लालबहादुर थापाले रु ३५ हजार हात पारे ।

उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बलका गणेश ठकुरीले दुई घण्टा ४५ मिनेट ४५.२ सेकेण्डमा निर्धारित दूरी पार गरी चौथो हुँदै सान्त्वनास्वरुप रु पाँच हजार प्राप्त गरेका थिए । पोखरा म्याराथनमा ११३ धावकको सहभागिता थियो । दश किमी पुरुषतर्फको वर्गीकरणमा नेपाली सेनाका रामजी बस्नेत प्रथम, कल्याण बानियाँ द्वितीय र मिलन कार्की तृतीय भए । उनीहरुले क्रमशः रु १५ हजार १० हजार र रु पाँच हजार प्राप्त गरेका थिए ।

यसैगरी १० किमी महिला दौडमा सहभागी ६३ जनालाई उछिन्दै सशस्त्र प्रहरी बलकी बिन्द्रा धन्के श्रेष्ठ प्रथम, नेपाली सेनाकी सरिता बासी द्वितीय र सशस्त्र प्रहरी बलकी स्वास्तिका श्रेष्ठ तृतीय भई क्रमशः रु १५ हजार, रु १० हजार र रु पाँच हजार प्राप्त गरेका थिए । पाँच किमी छात्रतर्फ जेशिज मावि भक्तपुरका सागर श्रेष्ठ प्रथम, ड्याफोडिल मावि पोखराका मनिष कार्की द्वितीय तथा जनसेवा माविका मदन ओलीले तृतीय स्थान प्राप्त गरी क्रमशः रु १० हजार, रु सात हजार र रु चार हजार प्राप्त गरेका थिए । छात्रातर्फ लक्ष्मी सेकेण्डरी माविकी ललिता लामिछाने प्रथम, शहीद स्मृति माविकी माधुरीदेवी नकर्मी द्वितीय र शिशुकल्याण माविकी कृति थापा तृतीय भए । उनीहरुले क्रमशः रु १० दश हजार, रु सात हजार र रु चार हजार प्राप्त गरे ।

प्रतियोगिताको ४०० मिटर पुरुष ह्विल चियर दौडमा सुरेश गौली प्रथम, भरत अधिकारी द्वितीय र बलबहादुर रोक्का तृतीय भए । यसैगरी सोही वर्गमा महिलातर्फ लक्ष्मी सुनार, अञ्जु बराल र पुनम विके क्रमशः प्रथम, द्वितीय र तृतीय भई क्रमशः रु पाँच हजार रु तीन हजार र दुई हजार जितेका थिए । पहिलो पटक आयोजित १०० मिटर दृष्टिविहीन पुरुषतर्फको दौडमा आशिष खड्गी, दुर्गादत्त पौडेल र राजन चन्द क्रमशः प्रथम, द्वितीय र तृतीय तथा महिलातर्फ माया गौतम, विपना खनाल र मुना अर्याल क्रमशः प्रथम, द्वितीय र तृतीय हुँदै क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजार प्राप्त गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै ‘रन फर फन’ इभेन्टमा प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलगायत करिब तीन हजार पोखरेली रंगशालामा सँगै दौडिएका थिए ।

खेलकुदका क्षेत्रमा विशेष योगदान गरेवापत राष्ट्रिय खेलकुद परिषद्, प्रशिक्षण विभागका निर्देशक रिमबहादुर राना भाट र कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख अशोक सिंहलाई सम्मान गरिएको थियो । प्रतियोगिताका विजयी खेलाडीलाई प्रदेश नं ४ का संघीय मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले पुरस्कार वितरण गर्दै खेलकुद विकासका लागि योजना अगाडि बढाइने जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!