संगालोखबर संवाददाता

काठमाडौं, २२ साउन। सरकारी निकायकै एक निरीक्षण प्रतिवेदनले मुलुकभरका जेलको कहालिलाग्दो अवस्था दर्शाएको छ । प्रायः जेलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी कोचाकोच गरेर राखेको तथ्य उजागर भएको छ ।

Advertisement

अधिकांश जेलमा घामसमेत नछिर्ने अँध्यारा कोठा छन् । सुत्ने ठाउँको अभावका कारण रातमा आलोपालो सुत्नुपर्ने स्थिति छ । बन्दीका लागि शौचालय, औषधोपचार, बन्दीलाई दिइने सिदा, पोषणयुक्त खाना, स्नान कक्षलगायत अभाव छ । बन्दीसँगै रहेका बालबच्चाको मानवअधिकारको अवस्थासमेत नाजुक भेटिएको छ ।

अधिकांश जेलको छाना टिनको रहेका कारण खिया लागेर वर्षामा पानी चुहिएको छ । कतिपयमा सख्त बिरामी हुँदासमेत पर्याप्त उपचारको प्रबन्ध छैन ।जेलमा नअटेर पाल र टहरोमा रात काट्नुपर्ने स्थिति छ ।

महान्यायाधिवक्ताको कार्यालयद्वारा गरिएको ५१ जिल्लाका कारागारको स्थलगत अनुगमनबाट यस्तो स्थिति पत्ता लागेको हो । अनुगमनका लागि १९ वटा अनुगमन टोली जिल्ला जिल्लामा खटाइएको थियो । ५१ जिल्लाका ४७ वटा कारागारमा हाल नौ हजार पाँच सय ९२ कैदीबन्दी छन् । तर, थेग्नसक्ने क्षमता भने जम्मा पाँच हजार पाँच सय ९४ छ । ‘क्षमताभन्दा झन्डै दुई गुना बढी कैदी थुनुवा रहेको भेटियो ।

बाजुरा, डोटीलगायत जिल्लाको स्थिति बेहाल छ,’ अनुगमनमा संलग्न महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सजव रेग्मीले भने, ‘अधिकांशमा घाम, हावा र प्रकाश पर्याप्त नरहेको अवस्था छ ।’ थुनुवाहरूले दैनिक सिदा खर्चबापत सात सय ग्राम चामल र ४५ रुपैयाँ पाउँछन् । तर, उनीहरूलाई पेटभरि खानका लागि अपर्याप्त हुने प्रतिवेदनले औंल्याएको छ ।आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement