संगालोखबर संवाददाता

काठमाडौँ, १० कात्तिक । दोस्रो चरण मंसिर २१ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छान्न प्रमुख राजनीतक दलहरुलाई भ्याइ नभ्याइ भएको छ ।

Advertisement

४५ जिल्लामा हुने दोस्रो चरणको निर्वाचनका लागि कार्तिक १६ गते बन्द सूची बुझाउनुपर्ने भएकाले दलहरु उम्मेदवार छान्ने अन्तिम गृहकार्यमा लागेका हुन् ।

यसैवीच, नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम टुंगो आजै लगाउने तयारी गरेको छ । कार्यदलस्तरमा देखिएका विवाद समाधान गर्दै साझा उम्मेदवार टुंगो लगाउने तयारीमा बाम गठबन्धन लागिपरेको हो ।

त्यसअघि शुक्रबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलसँग छलफल गरेका छन् ।

कार्यदलले विवादित स्थानको विवाद जस्ताको तस्तै प्रतिवेदनमा राखेर शीर्ष नेता सम्मिलित समन्वय समितिमा बुझाएपछि ओली र प्रचण्डले कार्यदलसँग छलफल गरेका हुन् । बाम गठबन्धनले संयुक्त चुनावी घोषणापत्र पनि आजै सार्वजनिक गर्ने तयारी गरेका छन् ।

यता, सरकारको नेतृत्वकर्ता नेपाली काङ्ग्रेसले पनि उम्मेदवारहरको टुङ्गो लगाउन काङ्ग्रेस संसदीय बोर्डको बैठक बोलाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटबारे छलफल भइरहेको नेता मिनेन्द्र रिजालले जानकारी दिए ।

प्रदेश नम्बर २ मा राजपा र संघीय समाजवादी फोरमसँग चुनावी तालमेलमा सकस भएपछि कंग्रेसले धमाधम आफ्ना उम्मेदवार छान्न थालेको हो ।

शुक्रबारै कग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको कार्यदल बैठक बस्ने भनिएपनि ११ बजेसम्म समय तय नभएको संघीयसमाजबादी फोरमका नेता तथा कार्यदल सदस्य राजेन्द्र श्रेष्ठले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement