संगालोखबर संवाददाता

काठमाडौं,२३ असोज । नयाँशक्तिले पाउने सिटका सम्बन्धमा छलफल आज नयाँशक्तिका संयोजक बाबुराम भट्टराई र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट हुने भएको छ।

Advertisement

एमाले माओवादी केन्द्र र नयाँशक्तिबीच चुनावी तालमेल र एकताको घोषणा भएको हप्ता दिन बितिसक्दा पनि नयाँशक्तिले पाउने सिट संख्या तय नगरिँदा नयाँशक्ति असन्तुष्ट छ।

तीन दलबीच १७ असोजमा चुनावी तालमेल र पार्टी एकताको निर्णय हुँदा एमाले र माओवादी केन्द्रबीच ६०/४० को अनुपातमा सिट बाँटफाँट गर्ने सहमति भएको थियो। वाम गठबन्धनमा सामेल हुने अन्य दललाई दिएर बाँकी रहने सिटमा ६०/४० को अनुपातमा बाँडफाँड गर्ने सहमति एमाले र माओवादी केन्द्रले गरेका थिए।

तालमेलको निर्णयसँगै तीनै पार्टीले एमाले महासचिव इश्वर पोखरेलको संयोजकत्वमा ७ सदस्यीय सिट बाँडफाँट सम्बन्धी कार्यदल पनि निर्माण गरेका थिए। तर, नयाँशक्तिले प्राप्त गर्ने सिटको संख्या नतोकिँदा नयाँशक्तिका प्रतिनिधि गंगानारायण श्रेष्ठ विना एमाले र माओवादी केन्द्र नेताहरु मात्रै बैठकमा सामेल हुने गरेका छन्।

तीन दिनभित्र सिट बाँडफाँट सम्बन्धी सिफारिस सहितको सिफारिस गर्ने जिम्मेवारी पाएपनि नयाँशक्तिले पाउने सिट तय हुन नसक्दा एकातिर कार्यदलको पूर्ण बैठक नै बस्न सकेको छैन भने अर्काेतिर एमाले र माओवादी केन्द्रबीच नै कुन निर्वाचन क्षेत्र कसले पाउने भन्ने मोटामोटी सहमति पनि बन्न सकेको छैन।

तीन दलीय गठबन्धनमा अन्य दल सहभागी भइनसकेकाले नयाँशक्तिले पाउने सिट संख्याका बारे निर्णय गर्न अप्ठेरो नभएको कार्यदलमा नयाँशक्तिका प्रतिनिधि रहेका श्रेष्ठ बताउँछन्। श्रेष्ठ भन्छन्, ‘गठबन्धनमा हामी बाहेक बाँकी अरु छैनन्। तरपनि उहाँहरुले किन ढिलाई गर्नु भएको हो, त्इयो बुझ्न सकिएन।’

एक हप्ता बित्न लाग्दासमेत आफ्नो दलले पाउने सिटसंख्याका बारे सहमति जुट्न नसकेपछि भट्टराई आफैले यस सम्बन्धमा पहल लिन लागेका हुन्। एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पालैपालो भेटेर आफ्नो दलले पाउने सिट संख्या यकिन गरिदिन भट्टराईले अनुरोध गर्नेछन्।

जहाँसम्म नयाँशक्तिको माग हो, उसले प्रतिनिधि सभा र प्रदेश सभामा १५–१५ प्रतिसत सिट पाउनुपर्ने प्रस्ताव गरेको छ । २० असोजमा माइतिघरमा एक व्यवसायीको निवासमा ओली र प्रचण्डसँगको भेटमा भट्टराईले यो प्रस्ताव गरेका थिए ।-नेपालखवर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement