रबिन कटेल

भोजपुर । भोजपुरमा बनेको खुकुरी नेपालमा मात्र होइन विदेशमासमेत प्रख्यात छ । चाडपर्वको सुरुआतसँगै भोजपुरमा अहिले खुकुरीको मागसमेत बढेको छ । खुकुरीको माग बढेअनुसार दक्ष कालिगडको भने अभाव देखिएको खुकुरी व्यवसायीहरूको भनाइ छ ।

Advertisement

उर्मिला आरन उद्योग भोजपुरका व्यवस्थापक हिरा श्रेष्ठ खुकुरीको माग र व्यवसाय राम्रो भए पनि दक्ष कालिगडको अभावका कारण समस्या देखिने गरेको बताउछन् । उनी भन्छन्, ‘भोजपुरमा बनेका खुकुरीहरु स्थानीय बजारमा मात्र होइन, भोजपुर बाहिरका जिल्ला साथै विदेशमासमेत माग छ, तर खुकुरी बनाउने कालिगड भने जिल्लामा कमै मात्र छन् । मैले पनि केही कालिगडलाई मात्र काम दिएको छु ।’

सदरमुकाममा रञ्जिता खुकुरी उद्योग सञ्चालन गरेका अर्का व्यवसायी गणेश विक भन्छन्, ‘हाम्रो जिल्ला खुकुरीका लागि प्रख्यात जिल्ला मानिन्छ, तर मागअनुसार खुकुरी उत्पादन हुन सकिरहेको छैन ।’ खकुरी उद्योगबाट थोरै कालिगडले मात्र रोजगारी पाएका छन् । हाल उद्योगबाट भोजपुरे, सिरुपाते, चित्लाङ्गे, कोथीमोडा लगायतका खुकुरी उत्पादन हुने गरेको छ ।
उद्योगबाट उत्पादन भएको खुकरी हाल स्थानीय बजारका अतिरिक्त खोटाङ, सङ्खुवासभा, धनकुटा, धरान विराटनगर, काठमाडौँ हुँदै मुलुकबाहिर समेत जाने गरेको छ । चर्चामा रहेसँगै भोजपुरमा हुने हरेक स्वागत तथा बिदाइमा समेत उपहारस्वरूप भोजपुरे खुकुरी प्रदान गर्ने गरिन्छ ।

भोजपुरमा आउने र जानेहरुलाई उद्योग वाणिज्य सङ्घले पनि खुकुरी दिएर स्वागत तथा बिदाइ गर्ने गरेको सङ्घ भोजपुरका कार्यालय सचिव मीना कार्की बताउछन् । ‘भोजपुरको चिनो नै बनिसक्यो भोजपुरे खुकुरी’, उनले भने, ‘विगतमा द्वन्द्वको समयमा बन्द भएको भोजपुरको खुकुरी उद्योगहरु मुलुकमा आएको शान्ति प्रक्रियाको थालनीसँगै पुन ब्युँतिएका हुन् ।’

भोजपुरमा दाँवा, कोट, दलगाउँ, बोखिम, गोगने, खावा लगायतका ठाँउहरुबाटसमेत खुकुरी बिक्रीका लागि आउने गरेको छ । भोजपुरमा बुदुना, बाँसपाते, सिरुपाते लगायतका खुकुरीहरु बन्ने गरेको भए पनि बुदुना बढी मात्रमा बिक्री हुने गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement