संगालोखबर संवाददाता

काठमाडौं, २ असोज । प्रदेश नम्बर २ मा आज शान्तिपूर्ण रुपमा स्थानीय तहको निर्वाचन भइरहेको छ । आठवटै जिल्लाका १३६ स्थानीय तहमा तेस्रो चरणमा स्थानीय तहको चुनाव भइरहेको छ ।

मतदाताहरु उल्लासपूर्वक बिहानैदेखि लामवद्ध भएर मत खसालिरहेका छन् । सर्लाहीको हर्कटवा जनता स्कुलबाट ११६ वषर्ीय भैरवबहादुर दमाईले पनि मतदान गरेका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए ।

Advertisement

मुख्य निर्वाचन आयुक्त अयोधी प्रसाद यादवसहित बिभिन्न राजनीतिक दलका नेताहरुले पनि आआफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मुख्य निर्वाचन आयुक्त यादवले सप्तरीको राजविराज नगरपालिका २ को आधारभूत विद्यालयबाट मतदान गरेका छन् । मतदानपछि पत्रकारसँग कुरा गर्दै उनले २ नम्बर प्रदेशका लागि ऐतिहासिक अवसर भन्दै उत्साहकासाथ मतदानमा सहभागी हुन अपिल गरे । आवधिक निर्वाचनले लोकतन्त्र बलियो हुने उनले बताए ।

यसैगरी कांग्रेस नेता विमलेन्द्र निधिले धनुषाको नगराइन नगरपालिका २ को राजेश्वर उच्चमावि केन्द्रबाट मतदान गरेका छन् ।

एमाले नेता माधव कुमार नेपालले रौतहटको गौर नगरपालिका ३ को रामजानकी कन्या प्रावि केन्द्रबाट मतदान गरेका छन् ।

माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले धनुषाको सबैलास्थित मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रदेश नम्बर २ मा उत्साहपूर्वक स्थानीय तह चुनाव भइरहे पनि राजपा अध्यक्ष महन्थ ठाकुर भने मतदानमा सहभागी हुन पाएनन् । स्वास्थ्यमा समस्या आएका कारण उनी गएराति नै काठमाडौं फर्किएका छन् ।

प्रदेश नम्बर २ का ८ जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा निर्धारित समय बिहान ७ बजेदेखि नै शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । मतदान साँझ पाँच बजेसम्म जारी रहनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement