संगालोखबर संवाददाता

काठमाडौं, १ अशोज । स्थानीय तह चुनावको लागि मतदानको पूर्वसन्ध्यामा धनुषा जिल्लामा प्रहरी प्रमुख हेरफेर भएको छ ।

Advertisement

धनुषाको प्रहरी प्रमुख रहेका एसपी लालमणी आचार्यलाई हेडक्वार्टरको आतंकवाद नियन्त्रण शाखामा तानिएको छ भने एसपी चक्रबहादुर सिंहलाई नयाँ प्रहरी प्रमुख बनाएर पठाइएको छ ।

एसपी सिंहले कमाण्ड सम्हालिसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप चापागाईले पुष्टि गरे ।

यसअघि प्रहरी हेडक्वार्टरले गरेको सरुवामा एसपी मीरा चौधरीलाई धनुषाको प्रहरी प्रमुख बनाइएको थियो । तर, कांग्रेस नेता बिमलेन्द्र निधीले चौधरीलाई नपठाउन आग्रह गरेपछि लालमणिको सरुवा रोकिएको थियो ।

सीआईबीमा कार्यरत एसपी चौधरी राजनीतिक प्रभाव र दबाव नमान्ने स्वभावकी प्रहरी अधिकृत भएकाले निधीले आफ्नो गृहजिल्लामा चुनावको बेला उनलाई ल्याउन नरुचाएको स्रोतले जनाएको छ । जनकपुर रमाना हुने तयारीमा रहेकी चौधरीलाई हेडक्वार्टरले सिआइबीमै रहन निर्देशन दिएको थियो ।

तर, मतदानको पूर्वसन्ध्यामा एकाएक नयाँ एसपी चक्रबहादुर सिंहलाई पठाएर आचार्यलाई हेडक्वार्टर तान्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । निधीको इच्छा अनुसार सिंहलाई धनुषा लगिएको आरोप विपक्षी पार्टीले लगाएका छन् ।

सरकारले भने निर्वाचन आयोगको सहमतिमै एसपी सरुवा भएको बताएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले सरुवा सहमतिका लागि गृहमन्त्रालयबाट पत्र केही दिनअघि नै आएको र सोही अनुसार आयोगले अनुमति दिएको हुन सक्ने बताए ।-अनलाइनखबर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement