इटहरी, २१ चैत ।  तमोर नदीमा र्‍याफ्टिङको अन्तर्राष्ट्रिय स्तरको प्रचार र प्रवर्द्धन गर्न नसकिएको सरोकारवालाहरुले बताएका छन् ।

Advertisement

इटहरीका पर्यटन व्यवसायी सुनिल भूषाले तमोर जस्तो विश्व प्रसिद्ध र्‍याफ्टिङ नदी प्रदेश १ मै रहेको तर त्यसको उचित ब्राण्डिङ गर्न पूर्व नेपाल चुकेको बताए ।

‘काठमाडौँ नजिकै पर्ने सामान्य त्रिशुलीको र्‍याफ्टिङमा राजधानीको ठूलो जमात मात्र हैन विदेशीहरू पनि आनन्द लिन आँउछन,’ उनले भने, ‘तर, हामीले तमोरको त्यही स्केलमा प्रचार गर्न सकेनौँ ।’

विहार, पश्चिम बङ्गाल जस्ता अत्यन्तै धेरै जनसंख्या भएका सिमावर्ती भारतीय राज्यका र्‍याफ्टिङ पारखिहरु ल्याउन नसकिएको भूषालले बताए ।

इटहरी नजिकैको गोकुलम रिसोर्टका सञ्चालक सतिश पोखरेलले विहारको कराडौँ जनसंख्याको एउटा सानो अंशको युवा जमातलाई मात्रै र्‍याफ्टिङ गर्न तमोरमा ल्याउन सकेको अवस्थामा पूर्वको पर्यटनमा व्यापक सुधार हुने बताए ।

‘हाल तमोरमा हप्तामा मङसिरदेखि बैशाखसम्म २५ समूहमा बढीमा १०० जनाले मात्रै र्‍याफ्टिङ गर्दा रैछन’, पोखरेलले भने, ‘बिहारका ५० हजार युवाहरू मात्रै हामीले पीक सिजनका ५/६ महिनामा मात्रै तान्न सके धेरै पर्यटकीय कमाइ हुन्छ ।’

पोखरेलको समूहमै तमोर र्‍याफ्टिङ गर्न यही शनिबार निस्किएका संघीय इकाइ प्रहरी कार्यालय धरानका प्रमुख एसएसपी हरिबहादुर पालले पनि तमोर र्‍याˆटिङको सबैथोक भएर पनि प्रचार नभएको बताए ।

‘तमोरमा र्‍याफ्टिङ गर्न आवश्यक सबै रोचक छाल र बहाबहरु छन्, र्‍याफ्टिङ गराउने व्यवसायिक कम्पनीहरू पनि छन् र जोखिम पनि कम छन्’, एसएसपी पालले भने, ‘तर, हामीले छिमेकी भारतीय राज्यहरू विहार, पश्चिम बङ्गाल र सिक्किम मात्रै हैन हाम्रै थुप्रै नेपाली साहसिक पर्यटक पारखि युवाहरू नै तान्न सकेका छैनौँ ।’

होटेल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले पनि पूर्वको सुगम र सहज तमोर र्‍याफ्टिङको हुनुपर्ने जत्तिको प्रचार र प्रवर्द्धन हुन नसकेको बताँउछन ।

इटहरीमा रहेको रिभर डीप र्‍याफ्टिङका सञ्चालक सुरेश बस्नेतले पूर्वका विभिन्न व्यवसायीहरूसँग र्‍याफ्टिङका आवश्यक प्राविधिक र मानवीय संसाधन भए पनि प्रचार भने पुग्नै नसकेको बताए ।

पूर्वमा धनकुटाको मुलघाट देखी सुनसरीको चतरासम्मको ६ घण्टा लामो ३४ किलोमिटरको तमोर र्‍याफ्टिङको रुट सबैभन्दा सुगम र सहज भएको बस्नेतले बताए ।

विहारी र बंगाली सेलिब्रेटी र संचारकर्मि ल्याएर प्रचार गरिँदै

अबका दिनहरूमा विहार र पश्चिम बंगालका पर्यटकहरू तान्न ती राज्यका पत्रकार, सेलिब्रेटी र नेताहरूलाई निःशुल्क र्‍याफ्टिङ गराएर केही प्रवर्द्धनात्मक कार्यक्रमहरू गर्ने सोच रहेको बस्नेत बताउँछन् ।

‘हामी व्यवसायीले गर्ने सामान्य प्रचार भन्दा राज्यस्तरको प्रचार नै बलियो हुन्छ । त्यसैले नेपालको कलकतामा रहेको महाबाणिज्य दूतको कार्यालयले पश्चिम बङ्गाल र दिल्लीको दूतावासले विहार र आसपासका क्षेत्रमा पूर्वको र्‍याफ्टिङको प्रवर्द्धनात्मक कार्यक्रमहरू गरेर सहयोग गर्न सक्छ ।’ उनले भने ।

व्यवसायी मात्रै हैन प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियेतले पनि पूर्वका जलबिहार गर्ने सबै नदीहरुको प्रचार सिमावर्ती भारतीय राज्यहरुमा गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउँछन ।

उनी भन्छन, ‘प्रदेश १ भारतीय बिहार र बंगाल जस्ता भारतीय राज्यहरुसँगै बंगलादेश र भुटानबाट पनि पायक छ । अब त्यी क्षेत्रमा जलबिहार पर्यटनको प्रवर्द्धन गर्न मन्त्रालयले नीति ल्याउनेछ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!