संगालोखबर संवाददाता

खोटाङ, १० कात्तिक । आगामी मंसिर १० गते हुने निर्वाचनमा नयाँ शक्ति नेपालबाट खोटाङमा उम्मेदवार बन्नुभएका मदन राईले तरकारीको बीउ दिएर भोट मागिरहेका छन्।

गत कात्तिक ५ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा लागेका राईले जिल्लाका हरेक स्थानीय तहमा आफ्ना कार्यकर्ता खटाएर रायो, मूला र केराउको बीउ बाँड्न लगाएका हुन्।

Advertisement

तरकारीको बीउ लिएर जनताको घरदैलोमा पुगेका कार्यकर्ताले राईको चुनावी घोषणापत्रसमेत बाँड्ने गरेका छन्। बीउ र घोषणापत्र सँगै प्याकिङ गरिएको प्लाष्टिकको पोकोमा ‘मदन राई को हो?’ शीर्षकको राईको जीवनीसमेत राखिएको छ।

झण्डै महिना दिनअघिदेखि चुनावी प्रचारमा लागेका राईले आचारसंहिताविपरीत जनतालाई प्रलोभनमा पार्न तरकारीको बीउ वितरण गरेको अन्य दलले आरोप लगाएका छन्।

जिल्लाबाट प्रतिनिधिसभाका लागि नयाँ शक्तिका उम्मेदवार राईसँगै विभिन्न राजनीतिक दलका १० जनाको उम्मेदवारी परेको छ। कृषि क्षेत्रको विज्ञ मानिएका राईले भने भोटका लागि नभई जिल्लावासीलाई तरकारीमा आत्मनिर्भर बनाउन बीउ वितरण गर्न लगाएको प्रतिक्रिया दिए।

साकेला गाउँपालिका–२ रतन्छा निवासी राईले वितरण गर्न लगाएको तरकारीको बीउको प्याकेटमा करिब ५०–६० दाना केराउ, १५०–१६० दाना मूला र करिब २०० को हाराहारीमा रायोको बीउ हुनेगरेको छ।

चुनावी अभियानमा जनताको घरमा जाँदा खाली हात जानुभन्दा थोरै भए पनि कोसेलीस्वरुप तरकारीको बीउ लिएर जाने गरिएको अभियानमा खटिनुभएका सूर्यबहादुर राईले बताए।

कृषि क्षेत्रमा विज्ञता हासिल गरेका राईले तरकारीको बीउ वितरण गर्न लगाउनु कुनै ठूलो विषय नभएको कतिपयको प्रतिक्रिया छ भने, कतिपयले सामाजिक सञ्जालबाटै चर्को विरोध गर्ने गरेका छन्। अहिले उम्मेदवार बनेका राईले जिल्लामा पहिलोपटक व्यावसायिकरुपमा तरकारी खेती गर्न सकिन्छ भन्ने ज्ञान दिएको जिल्लाका अगुवा कृषक बताउँछन्।

भर्खरै नयाँ शक्ति नेपालको राजनीतिमा लागेका राईसँगै वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का विशाल भट्टराई र नेपाली काँग्रेसकी सरस्वती बजिमयबीच लगायत १०  जना प्रतिस्पर्धामा छन्।

सरकारी सेवाबाट अवकाश प्राप्त राईलाई उनले खोलेको शुभम् फाउण्डेशनमा अध्ययनरत विद्यार्थी तथा केही कार्यकर्ताको साथ छ। प्रदेशसभाको दुवै क्षेत्रमा उम्मेदवारी दिएको नयाँ शक्ति नेपालका नेताले चार दिनपछि बुधबार उम्मेदवारी फिर्ता लिएका छन्।

क्षेत्र नं १ बाट उम्मेदवारी दिएका मोहन गुरुङ र क्षेत्र नं २ बाट उम्मेदवारी दिएका मणि राईले एकसाथै उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement