संगालोखबर संवाददाता

काठमाडौँ, २७ असोज । सबै जसो राजनीतिक दलहरु आगामी मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीमा लागेका छन् । यद्यपी पूूर्व तालिका अनुसार दलहरुले सूची बुझाउन अलमल गरेपछि समानुपातिकतर्फको सूची बुझाउने मिति नै सार्न दलहरुबीच छलफल हुने भएको छ ।

Advertisement

निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवार सूची असोज २९ गतेभित्र बुझाउने कार्यतालिका नजिकिएपछि राजनीतिक दलहरु उम्मेदवारको सूची तयार गर्न र सूची बुझाउने मिति सार्न दुवैमा व्यस्त बनेका हुन् ।

त्यसका लागि सवैजसो राजनीतिक दलहरु आन्तरिक छलफल र बैठकमा व्यस्त बनेका छन् ।

एमालेका एकै दिन दुई बैठक 

उम्मेदवारहरुको सूची फाइनल गर्न एमालेले आजै संसदीय दल र स्थायी समिति बैठक बोलाएको छ ।

एमाले मुख्यालय धुम्बाराहीमा अपरान्ह २ बजे बस्ने संसदीय दलको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फको उम्मेदवार टुङ्गो लगाउने विषयमा छलफल गर्ने नेताहरुले बताएका छन् ।

यस्तै शुक्रबारै एमालेको स्थायी समितिको बैठक पनि बस्दैछ । साँझ ५ बजे बस्ने बैठकमा संसदीय समितिले सिफारिस गरेका उम्मेदवारको अन्तिम टुङ्गो लगाउने तयारी भएको एमालेले जनाएको छ ।

काङ्ग्रेस पनि उम्मेदवार छान्न व्यस्त
नेपाली कांग्रस पनि उम्मेदवार छान्न ब्यस्त बनेको छ । समानुपातिक तर्फको सूची बुझाउने मिति एक दिनमात्र बाँकी रहँदा काङ्ग्रेसले सबै जिल्लाबाट सिफारिस भएर आएका नामहरुलाई अन्तिम रुप दिएर सूची तयार गर्ने काम भइरहेको कांस्रेस संसदीय समितिका सदस्य अर्जुननरसिंह केसीले बताए । काङ्ग्रेसले दुइ दिन अघिमात्रै उम्मेदवार छान्न १७ संसदीय संसदीय समिति गठन गरेको थियो । यद्यपि समितिको बैठक बिहिबार बसेपनि उम्मेदवारहरुको टुङ्गो भने लगाउन सकेन ।

माओवादी अनौपचाकि छलफलमा 
माओवादी केन्द्रले पनि उम्मेदवारहरुको सूची बुझाउने मिति नजिकिएपछि जिल्लाजिल्लाबाट आएका सूचीहरुको छानबीन भइरहेको जनाएको छ । प्रवक्ता पम्फा भुषालले सवै प्रदेशबाट सिफारिस भएर आएका नामहरु विभिन्न कमिटिहरुमा छलफल भइरहेको जानकारी दिइन् । उनले औपचारिक बैठक नभएपनि पार्टीका विभिन्न तहमा नामावली अध्ययनको काम भइरहेको जानकारी गराइन् । माओवादीका उम्मेदवारहरुको नाम फाइनल गर्ने जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ ।

आयोगले प्रमुख दलसँग छलफल गर्दै 
यसैबीच निर्वाचन आयोगले निर्वाचनको तयारी तथा हालसम्मका प्रगतिबारे प्रमुख राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ । दिउँसो १ बजे हुने छलफलमा प्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने मुख्य दललाई बोलाइएको प्रवक्ता नवराज ढकालले बताएका छन् । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र छाप्न सुरु गरेको छ भने निर्वाचन अधिकृतहरुलाई प्रशिक्षणपछि कार्याक्षेत्र पठाईसकेको छ ।

यसैबीच आजै प्रधानमन्त्रीले तीन दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री कार्यलय सिंहदरवारमा ११ बजे बोलाइएको बैठकमा समानुपातिक सूची बुझाउने समय सार्न एमालेले आग्रह गरेपछि त्यसबारे साझा धारणा बनाउन बैठक राखिएको प्रधानमन्त्रीनिकट श्रोतले जनाएको छ ।-रातोपाटी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement