संगालोखबर संवाददाता

काठमाडौं,२६ असोज ।  चिकित्सा शिक्षा विधेयक पारितलगायतका माग राखेर विगत सात दिनदेखि आमरण अनशनमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ ।

Advertisement

स्वास्थ्य अवस्था खस्किने र महत्वपूर्ण अंगका कार्यमा उतारचढाव देखिन थालेपछि उनको उपचारमा २४ घन्टे मोनिटर सुरु गरिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार डा.केसीको मुटुको चालमा गडबढी र श्वासप्रश्वाससमेत समस्या देखिन थालेको छ ।

प्रयोगशाला परीक्षणका क्रममा शरीरमा रक्त कोशिकाको मात्रा घट्न थालेकोले संक्रमणको जोखिम बढ्दै गएको छ । उपचारमा संलग्न डा. प्रदीपकृष्ण श्रेष्ठका अनुसार रगतमा इलेक्टोलाइट्सको मात्रा पनि घटेको छ । जसको प्रत्यक्ष असर ‘आरिदिमिया (मुटुको चालमा परिवर्तन हुने) जोखिम बढेको छ । यसले मुटुको चालमा एक्कासि परिवर्तन भएर मुटु बन्द हुन सक्छ ।

डा. केसीले सुरुदेखि नै पिसाबमा एसिटोन पोजेटिभ देखिनुका साथै छातीमा समस्या, निरन्तर टाउको दुखाइ, मांशपेशी बाउडिने र रिंगटा चल्ने समस्या देखिँदै आएको छ । सोमबारदेखि नै शरीरमा अक्सिजन कम भएर श्वासप्रश्वासमा समस्या देखिएपछि निरन्तर अक्सिजन दिन थालिएको थियो ।

वार्ता टोली बन्यो वार्ता सुरु भएन
डा. केसीका माग पूरा गरेर अनशन अन्त्यका लागि सरकारले वार्ता टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नगेन्द्रप्रसाद उपाध्यायको संयोजकत्वमा गठित वार्ता टोलीमा निमित्त शिक्षा सचिव डिल्ली रिमाल र स्वास्थ्य सचिव डा. किरण रेग्मी छन् । टोली गठन भए पनि बुधबार रातिसम्म डा. केसीसँग वार्ता गरेको छैन ।

प्रमुख मागका रूपमा रहेको चिकित्सा शिक्षा विधेयकमा केन्द्रित रहेर पूर्व स्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री एवं पार्टीका तर्फबाट सहमतिको प्रयास गरे पनि अन्य मागबारे कुनै प्रगति नभएको डा. केसीका तर्फबाट वार्तामा खटिएका डा.अभिशेक सिंहले बताए ।

उनले विधेयकबाहेक मनपरी शुल्क असुली, तिनमा संलग्न पदाधिकारीमाथि कारबाहीलगायतका महत्वपूर्ण मागमा छलफल नै नभएको बताए । डा.सिंहले तत्काल वार्ता सुरु गरेर समाधान प्रयास नभए अनशनसँगै अन्य विरोधका कार्यक्रम बढाउँदै लगिने बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement