- नयाँपत्रिका

विराटनगर, १० फागुन । प्रदेश १ को अस्थायी मुकाम विराटनगरलाई सुरक्षित बनाउन सिसिटिभी जडानदेखि सवारी व्यवस्थापनसम्मको काम सुरु गरिएको छ । मुख्यमन्त्री शेरधन राईको निर्देशनमा काम थालिएको प्रमुख सचिव यादव कोइरालाले बताए ।

मुख्यमन्त्रीको कार्यालयमा गत ७ फागुनमा भएको सर्वपक्षीय छलफलमा विराटनगरलाई सुरक्षित बनाउन आवश्यक रणनीति तयार पार्न र कार्यान्वयन गर्न मुख्यमन्त्री राईले निर्देशन दिएका थिए ।

ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरमा दैनिक पाँच लाखभन्दा बढी मान्छे र एक लाखभन्दा बढी सवारीसाधन आवतजावत हुन्छ । महानगर घोषणा र प्रदेश १ को अस्थायी राजधानी भएपछि मान्छे र सवारीको चापमा क्रमशः वृद्धि भइरहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

विराटनगरको दक्षिणी सीमा भारतको बिहारसँग जोडिएको छ । सुरक्षाका लागि सीमा व्यवस्थित गर्न र यातायातलाई सहज बनाउन पहल भइरहेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । अहिले विराटनगरको जनसंख्या दुई लाख ५० हजारको हाराहारीमा छ ।

झन्डै ६५ वर्गकिलोमिटरमा फैलिएको विराटनगर औद्योगिक सहर हो । यहाँ ठूला व्यापारिक घराना पनि सक्रिय छन् । उद्योगी र व्यापारीले केही दिनअघि मुख्यमन्त्रीलाई भेटेर विराटनगरको सुरक्षा व्यवस्था मजबुत बनाउन सुझाब पनि दिएका थिए ।

सिटिटिभी क्यामरा जडानको तयारी 
विराटनगरका मुख्य सडक र चोकमा सिसिटिभी जडानको तयारी भइरहेको प्रमुख सचिव यादव कोइरालाले जानकारी दिए । उनले भने, ‘हामीले कहाँ–कहाँ कति संख्यामा सिटिटिभी आवश्यक पर्छ भनेर अध्ययन सुरु गरिसकेका छौँ, विराटनगरलाई सुरक्षित बनाउन मुख्य स्थानमा चाँडै जडान हुन्छ ।’
तीन वर्षपहिले पनि विराटनगरमा सिसिटिभी क्यामरा जडान भएका थिए । उद्योगी–व्यापारीको सहयोगमा बजार क्षेत्रमा १० वटा क्यामरा राखिएका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङको कन्ट्रोल रुमबाट सिसिटिभी निगरानी गरिएका थिए । तर, संरक्षण अभावमा ती सिसिटिभी बन्द भए ।

मुख्य सडकमा सिटी रिक्सा रोक लगाइने
विराटनगरका मुख्य सडकमा सिटी रिक्सा सञ्चालनमा रोक लगाइने भएको छ । सिटी रिक्साकै कारण दुर्घटना बढेको र ट्राफिक व्यवस्थापनमा बाधा पु-याएको भन्दै यसअघि पनि स्थानीय प्रशासनले रोक लगाउने निर्णय गरेको थियो ।

तर, कार्यान्वयन हुन सकेको छैन । तर, मुख्यमन्त्री कार्यालयको निर्देशनपछि अब कडाइ गरिने ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । विराटनगरमा तीन हजारभन्दा बढी सिटी रिक्सा सञ्चालनमा छन् ।

‘पिक आवर’मा मालबाहक सवारी निषेध गर्न निर्देशन
विराटनगरका मुख्य र सहायक सडक स्तरोन्नति सुस्त हुँदा सवारी अस्तव्यस्त भएका छन् । ‘पिक आवर’मा आवागमन सहज बनाउन ठूला मालबाहक सवारीसाधन निषेधको तयारी गरिएको छ ।

ठूला मालबाहक सवारीसाधनका लागि निश्चित समय तोक्न प्रहरीलाई निर्देशन दिइसकेको प्रमुख सचिव यादव कोइरालाले बताए ।

तर, विराटनगर भन्सार नाकाबाट आवतजावत गर्ने मालबाहक सवारीलाई साँझ र बिहान मात्र आवागन गराउन सम्भव छैन । भन्सार परिसर साँघुरो भएको र सडकमा दिनभर रोकेर राख्न सम्भव नभएकाले समयतालिका लागू गर्न नसकेको मोरङ ट्राफिकका इन्स्पेक्टर मदन गिरीले बताए ।

तर, रोकेर राख्न सकिँदैन  ट्राफिक कार्यालय विराटनगर भन्सार नाका भएर दैनिक तीन सयभन्दा बढी ठूला मालबाहक सवारी आवतजावत गर्छन् ।

ती सवारीका लागि चाँडो बाइपास रोड निर्माण गर्नुपर्ने मोरङ ट्राफिकका इन्स्पेक्टर मदन गिरीले बताए । उनले भने, ‘रिरुट भएर आएका सवारीसाधनलाई दिनभर रोकेर राख्न सम्भव छैन, यसैले स्तरोन्नति भइरहेको सडक पूर्ण क्षमतामा सञ्चालनमा नआएसम्म टाइमिङ लगाउन सकिँदैन ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!