- अनलाइनखबर

काठमाडौं, ९ फागुन  । पूर्वी युरोपेली मुलुक टर्कीले नेपालबाट आयात गर्दै आएको धागोमा भन्सार छुट सुविधा रोक्ने संकेत गरेको छ ।

नेपालबाट हुँदै आएको ठूलो परिमाणको निर्यातमाथि नै टर्कीले शंका व्यक्त गरेको छ । नेपालले वार्षिक करिब आठ अर्ब रुपैयाँको धागो टर्की निर्यात गर्छ । भन्सार छुट सुविधा रोक्ने संकेत गरेसँगै धागोको निकासी प्रभावित हुने जोखिम बढेको छ ।

Advertisement

करिब एक महिनाअघि नेपालबाट निकासी हुने धागोमा भन्सार छुट सुविधा दिने कि नदिने भनेर अध्ययन नै थालेको छ । टर्कीले नेपालको धागो आयातमा भन्सार छुट सुविधा रोकिसकेको दाबी केही सरकारी अधिकारीहरुको छ ।

१७ हजार मेट्रिक टन निर्यात

टर्की नेपालको धागो निकासीको प्रमुख मुलुकमध्ये एक हो । पछिल्लो समय आयात अत्यधिक बढेपछि नेपालकै उत्पादन आएको हो कि होइन भन्नेमा शंका गरेका हुन्, टर्कीका सरकारी निकायहरुले ।

वाणिज्य मन्त्रालयका अनुसार १० महिनायता मात्र टर्कीमा करिब १७ हजार मेट्रिक टन धागो निर्यात भएको छ । जबकि, अघिल्लो वर्ष यस्तो निकासी करिब १० हजार मेट्रिक टन थियो ।

नेपाली धागोका कारण आन्तरिक उत्पादनले बजार नपाउने अवस्था आएपछि टर्कीले आयात कटौतीका लागि कर सुविधा हटाउन खोजेको व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका अधिकारीहरु बताउँछन् । त्यसका लागि ‘एन्टी–डम्पिङ’जस्तै ‘एन्टी–सर्कम्भेन्सन ड्युटी’ लगाउने संकेत गरेको छ ।

भन्सार विभागका एक उच्च अधिकारीका अनुसार विश्व व्यापार संगठन (डब्लुटीओ)को सदस्य बनेका मुलुकहरुले आन्तरिक उत्पादनको संरक्षणका लागि उक्त बन्देज लगाउन सक्छन् ।

नेपालले मलेसिया, इन्डोनेसियालगायत मुलुकबाट आयात गरी त्यही धागो आफ्नो मुलुकमा निर्यात गरेको आरोप टर्कीले लगाएको छ । यसबाट भन्सार छुटको दुरुपयोग भएको टर्कीको शंका देखिन्छ ।

अल्पविकसित मुलुकको आर्थिक विकासका लागि निर्यात प्रबद्र्धन गर्न दिइने जीएसपी (जेनरलाइज्ड सिस्टम अफ प्रिफरेन्स) सुविधाअन्तर्गत् टर्कीले नेपालबाट आयात गर्ने धागोमा भन्सार छुट प्रदान गर्छ । उक्त सुविधाअन्तर्गत् टर्कीले धागो निकासीमा लाग्ने करिब चार दशमलव दुई प्रतिशत भन्सार छुट दिँदै आएको छ ।

अल्पविकसित मुलुकलाई जीएसपी सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाइसकेकाले टर्कीले यस्तो सुविधा रोक्न नसके पनि अन्यखाले कर लगाएर नेपाली धागो आयातलाई प्रभावित पार्ने चेष्टा टर्कीले गरेको अधिकारीहरु बताउँछन् ।

भन्सार छुट सुविधा रोक्ने तयारी गरेसँगै नेपालले त्यसको प्रतिरक्षाको प्रयास गरेको छ । नेपाली धागो निकासीमा कुनै कैफियत नरहेको र सुविधा कायम राख्ने सम्बन्धमा आग्रह गर्न चाँडै नै वाणिज्य र परराष्ट्र मन्त्रालयका अधिकारीहरु टर्की जाने तयारीमा छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!