काठमाडौं, ९ फागुन । एमाले–माओवादीले जुराएको एकीकृत पार्टीको नयाँ नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न कठिनाइ हुने भएको छ । ऋषिराम कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी यसअघि नै आयोगमा दर्ता छ ।

निर्वाचन आयोगको दलसम्बन्धी ऐनको दफा ९ मा एउटै नाममा दुई पार्टी दर्ता गर्न नमिल्ने व्यवस्था स्पष्ट छ । यस्तो अवस्थामा एकीकृत पार्टीले कि पुरानो पार्टीसँग एकता गर्नुपर्नेछ, कि नयाँ पार्टीको नाममा सामान्य भए पनि परिमार्जन गर्नुपर्नेछ ।

Advertisement

०६९ मा ऋषिराम कट्टेलको नाममा नेकपा आयोगमा दर्ता भएको छ । यो दलले ०७० को संविधानसभा निर्वाचनमा समेत भाग लिएको थियो ।

एउटै नाममा दुई पार्टी दर्ता गर्न मिल्दैन : आयोग
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले एउटै नाममा दुईवटा पार्टी दर्ता हुन नसक्ने बताए । ‘नेताज्यूहरूलाई आयोगमा दल दर्ताको नियम थाहै होला,’ ढकालले नयाँ पत्रिकासँग भने, ‘नामकै कारण उहाँहरूको पार्टी दर्ता किन रोकिएला र ?’ नामको बीचमा कमा वा ड्यासलगायत केही थपेर उही नाम दर्ता गर्न सकिने उनले बताए ।

अध्यक्ष ऋषि कट्टेल भन्छन्, ‘एकता गर्दिनँ, नेकपा दिन्नँ’

नेपाल कम्युनिस्ट पार्टी ०६९ मा निर्वाचन आयोगमा दर्ता गरेका हौँ । तर, अहिले आएर एमाले–माओवादीले पनि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी नै राख्ने सहमति गरेको मैले पनि सुनेको छु । उहाँहरूले पनि दल दर्ता गर्ने त निर्वाचन आयोगमै होला । सडकमा दर्ता गरेर त दल बन्दैन होला । सत्ताको दबाबमा आयोगले दुईवटा पार्टीलाई एउटै नाम दिन्छ भन्ने मलाई लाग्दैन । त्यसो भयो भने हामी जाने अदालतमै हो ।

हाम्रो र उनीहरूको पार्टीको विचार नै मिल्दैन । त्यसैले एकताको कुनै सम्भावना नै छैन । तर, यतिखेर हामीलाई बडो अचम्म लाग्या छ । जो विचारमा कम्युनिस्ट नै छैन, उसलाई किन कम्युनिस्ट पार्टी नाम चाहिएको हो ? तर, उनीहरूलाई चाहियो भन्दैमा हामीले दिने कुरै छैन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!