काठमाडौं, ८ फागुन। सरकारले प्रदेशमा ६० प्रतिशत कर्मचारी पठाए पनि कार्यस्थलमा भने १५ प्रतिशत मात्रै कर्मचारी पुगेका छन् । खटाएको स्थानमा कर्मचारी जान नमानेपछि सरकारले उनीहरुलाई बर्खास्त गर्ने तयारी गरेको  छ ।

सरकारले प्रदेशको कामकाजका लागि अहिलेसम्म एक हजार कर्मचारी खटाइसकेको छ । जसमध्ये एक सयको हाराहारीमा मात्रै कार्यस्थल पुगेका छन् । बाँकी कर्मचारी प्रदेशमा जान अटेर गरेर बसेका छन् । धेरैजसो बीचबाटोबाटै हराएका छन् ।

कर्मचारीहरू आफ्नो कार्यक्षेत्रमा नजाँदा प्रादेशिक कार्यालयका काम प्रभावित बनेका छन् । सचिवदेखि कार्यालय सहयोगीसमेतका कर्मचारी खटाएको ठाउँमा नगएपछि सरकार आक्रामक रूपमा प्रस्तुत भएको छ । खटाएका प्रदेश कार्यालयमा नजाने निजामती कर्मचारीलाई सरकारले कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेशमा खटाइएका कर्मचारीलाई तत्काल रमाना दिन सम्बन्धित कार्यालय प्रमुखलाई पटक–पटक ताकेता गरिरहेको जनाएको छ । तर, खटाएका कर्मचारीले विभिन्न शक्तिकेन्द्र प्रयोग गरेर सरुवा रद्द गर्न दबाब दिन लागेको र खटाएको ठाउँमा नगएपछि उनीहरूमाथि आवश्यक कारबाही गर्नुपर्ने स्थितिमा पुगेको प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै नयाँ पत्रिका दैनिकले समाचार लेखेको छ ।

प्रदेशमा खटाइएका कर्मचारीहरू विभिन्न बहाना बनाएर राजधानीमै बसेपछि प्रधानमन्त्री कार्यालय र सामान्य प्रशासन मन्त्रालय आक्रामक बनेको हो । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले मंगलबारसम्म पनि खटाएको कार्यालयमा नपुग्ने कर्मचारीविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने तयारीमा मन्त्रालय रहेको जानकारी दिए । उनले निजामती सेवा ऐन २०४९ को दफा ६१ को ‘च’ अनुसार कारबाही हुने बताए ।

निजामती सेवा ऐन २०४९ को दफा ६१ मा कर्मचारीलाई सेवाबाट हटाउने वा बर्खास्त गर्न सक्नेसम्बन्धी व्यवस्था छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!