भक्तपुर, १ फागुन ।  महाशिवरात्रि पर्वका अवसरमा आज यहाँका प्रसिद्ध शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

Advertisement

सूर्यविनायक नगरपालिकास्थित केदारनाथको शिर भाग मानिने डोलेश्वर महादेव मन्दिरका चारै ढोका त्यहाँको डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिले आज बिहान ४ बजेदेखि राति १२ बजेसम्म खुला राखेको छ । लाम बसेको एक घण्टामै सहज रुपमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको समितिका वरिष्ठ उपाध्यक्ष एवं सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो ।

भक्तजनका लागि डोलेश्वरकोे पञ्चस्नान गर्न र चारै प्रहर पूजा गर्न सशुल्क व्यवस्था गरिएको जानकारी दिनुभयो । स्वयंसेवकका रुपमा नेपाल स्काउट र सुरक्षाकर्मीलाई परिचालन गरिएको छ । मन्दिरमा स्वास्थ्य शिविर पनि आयोजना गरिएको छ । महाशिवरात्रि पर्वका लागि भारतबाट आएका ४०० नागा बाबा एवं साधुसन्तलाई खानेबस्ने व्यवस्थाका साथै धुनी बाल्न दाउराको व्यवस्था गरिएको छ ।

बुधबार बिदाइ गरिने जोगीहरुलाई दक्षिणास्वरुप ‘क’ वर्गकालाई रु एक हजार १११, ‘ख’ वर्गकालाई रु ७७७ र ‘ग’ वर्गकालाई रु ५५५ सहित एक एक थान कम्बल एवं धोती दिइनेछ ।

आशापुरीमा मेला 

परापूर्वकालदेखि नै मनको इच्छा पूरा गर्ने महादेवका रुपमा परिचित सिपाडोलको प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि आज दर्शनार्थीको घुइँचो लागेको छ । काभ्रेपलाञ्चोकको सिमाना नैचालसँग जोडिएको आशापुरी महादेव मन्दिरमा आज दर्शनार्थीका साथै रुद्री पाठ र होम गर्नेको समेत भीड लागेको छ । सहज दर्शनका लागि स्वयंसेवक परिचालन गरेर व्यवस्थापन गरिएको छ ।

आशापुरीसम्म कालोपत्रे सडकको पहुँच पुगेपछि दर्शनार्थीको भीड बढेको छ । डोलेश्वर आउने भक्तजन आशापुरी र आशापुरी आउने भक्तजन डोलेश्वर आउने भएकाले पनि दुवै मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको बताइएको छ ।

कैलाशनाथमा उस्तै 

सूर्यविनायक नगरपालिका १० चित्तपोलस्थित कैलाशनाथ महादेव मन्दिरमा दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ । एक सय ५५ फिट अग्लो कैलाशनाथ महादेव मन्दिरमा दर्शनार्थीको भीडलाई ध्यानमा राखी दोहोरो आवागमनको व्यवस्था गरिएको सञ्चालक कमल जैनले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “विगत वर्षमा जस्तै यस वर्ष पनि एक लाख दर्शनार्थी आउने अनुमान गरेर सहज रुपमा दर्शन गर्ने व्यवस्था गरिएको छ, । भीडलाई व्यवस्थित गर्न सुरक्षाकर्मी र स्वयंसेवक परिचालन गरेका छौँ ।” महाशिवरात्रि, संक्रान्ति र मंगलबार एकैदिन परेकाले आजको दिनलाई यहाँ विशेष दिनका रुपमा लिइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!