भैरहवा, १ फागुन (रासस) । रुपन्देहीका किसान अहिले कृषि बीमामा आकर्षित हुँदै गएका छन् ।

Advertisement

सरकारले कृषि बीमालाई प्राथमिकतामा राखेपछि किसान आकर्षित भएका हुन् । गहँु, माछा, आलु, केरा, तरकारी, चैते धानलगायतका खाद्यान्न तथा तरकारीमा किसानले बीमा गर्ने सुविधा पाएको जिल्ला कृषि विकास कार्यालय, रुपन्देहीले जनाएको छ ।

किसानले गर्ने विमित रकममध्ये ७५ प्रतिशत राज्यले अनुदान दिने र २५ प्रतिशत किसानले तिर्नुपर्ने व्यवस्थासमेत रहेको छ । आर्थिक वर्ष ०७३÷०७४ मा विभिन्न खाद्यान्न बालीमा जिल्लाका २२० जना किसानले तीन करोड पाँच लाख बराबरको कृषि बीमा गरेका छन् ।

रुपन्देही खाद्यान्न र तरकारीमा आत्मनिर्भर भएको जिल्लासमेत रहेको जानकारी दिँदै कृषि विकास कार्यालय रुपन्देहीले जिल्लामा एक लाख ८२ हजार मेट्रिक टन खाद्यान्न आवश्यक रहेको र दुई लाख ७६ हजार मेट्रिक टन उत्पादन हुने गरेको जिल्ला कृषि कार्यालय रुपन्देहीका प्रमुख भोजराज सापकोटाले बताउनुभयो ।

जिल्लामा मुख्य गरी धान, गहँु, मकै, कोदो र फापरलगायतका खाद्यान्न उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको रेकर्डमा देखिन्छ ।

आलु र हरियो तरकारीमा समेत रुपन्देही आत्मनिर्भर रहेको जिल्ला कृषि विकास कार्यालय, रुपन्देहीको तथ्यांक रहेको छ । जिल्लामा एक लाख एक हजार मेट्रिक टन तरकारी आवश्यकता रहेकोमा एक लाख १५ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ ।

गेडागुडी र तेलहनबालीको उत्पादनले भने रुपन्देहीलाई अपुग हुने गरेको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका कृषि प्रसार अधिकृत आशा भण्डारीले जानकारी दिनुभयो ।

कृषि प्रसार अधिकृत भण्डारीले जिल्लामा कृषि पकेट क्षेत्र ब्लक क्षेत्रको आधारमा कार्यक्रम अगाडि बढाइएको जानाकारी दिँदै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत किसानलाई आर्थिक अनुदानसमेत उपलब्ध गराइएको बताउनुभयो ।

जिल्लामा ५३ वटा कृषि पकेट क्षेत्र र दुईवटा कृषि ब्लक क्षेत्र रहेका छन् । तरकारीमा १४ वटा पकेट क्षेत्र छन् । ती अन्तर्गत केराको पकेट क्षेत्र चार वटा, आलु, सिमी, तोरी, मकै र गहँुको एक एकवटा, धान १० वटा, धानको बीउ तीनवटा, माछा पाँचवटा र च्याउ तीनवटा पकेट क्षेत्रमा उत्पादन हुनेगरेको छ ।

जिल्लाका रायपुर, मानपकडी, मानमटरिया, धकधई, असुरैना, अमुवाँ खाद्यान्नको पकेट क्षेत्र हुन् भने सूर्यपुरा, मानपकडी, वसन्तपुरलगायतका क्षेत्र तरकारीका पकेट क्षेत्र र दयानगर, छोड्की रामनगर, अमुवा, मानमटरिया, मानपकडी र धकधई माछाको पकेट क्षेत्र रहेका छन् ।

प्रत्येक पकेट क्षेत्रका लागि जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले रु दुई लाख ८२ हजारको अनुदान दिने गरेको छ भने जिल्लामा रहेका दुई ब्लक क्षेत्रमध्ये माछा ब्लक क्षेत्रलाई रु ४३ लाख र खाद्यान्न उत्पादन हुने ब्लक क्षेत्रलाई रु ५३ लाख अनुदान सहयोग गरेका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

नेपालको कृषि, पर्यटन र उद्योगमा समेत अगाडि बढेको रुपन्देहीले पछिल्लो समयमा माछा उत्पादनलाई छुट्टै पहिचान बनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!