- रासस

भक्तपुर, २८ माघ ।  नेपालमा एचआईभी संक्रमितको संख्या ३२ हजार नाघेको छ ।

अन्तर्राष्ट्रिय कण्डम दिवसका अवसरमा आज भक्तपुरमा शुरुवात नामक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराईएको हो । कार्यक्रममा एड्स हेल्थ केयर फाउण्डेसन (एएचएफ) का प्रतिनिधि रवि सिंहले हालैको तथ्याङ्कअनुसार ३२ हजार ७३५ एचआईभी संक्रमित रहेको र त्यसमध्ये २३ हजार एचआईभी संक्रमितको पहिचान भएको र अझै १० हजारको पहिचान हुन बाँकी रहेको बताउनुभयो ।

Advertisement

एचआईभी पहिचान भएकामध्ये ८५ प्रतिशतलाई यौन सम्बन्ध कै माध्यमबाट संक्रमण भएको बताउँदै उहाँले युवा पुस्तामा असुरक्षित यौन सम्बन्ध बढ्दै गएकाले युवालाई कण्डम प्रयोगबारे चेतना दिनुपर्नेमा जोड दिनुभयो ।

पत्रकार सम्मेलनमा शुरुवात संस्थाकी कार्यकारी निर्देशक राजेश दीदीयाले सरकारले संचालन गरेको देशभरका ६७ वटा एआरटी सेन्टरमा १३ हजार संक्रमितले औषधि सेवन गरिरहेको बताउनुभयो । उहाँका अनुसार भक्तपुरमा मात्रै एक हजार १०० एचआईभी संक्रमित रहेका छन् ।

निःशुल्क एड्स परीक्षण 

अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा शुरुवात संस्थाले एचआईभी एड्सको निःशुल्क परीक्षण गर्ने भएको छ । १३ फ्रेबुअरी अर्थात शिवरात्रिका दिन फागुन १ गते भक्तपुरको दरबार स्क्वायरमा निःशुल्क एचआइभीको परीक्षण गरिने भएको शुरुवात संस्थाका कार्यकारी निर्देशक दीदीयाले जानकारी दिनुभयो ।

अत्याधुनिक प्रविधिको मेशिनले विशेष भ्यानमा राखेर परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । भक्तपुरमा मात्रै दैनिक १० हजारभन्दा बढी कण्डमको खपत हुने जानकारी दिँदै उहाँले त्यसैलाई मध्यनजर राख्दै फागुन १ गते दरबार स्क्वायर र तौमढी (पाँचतले मन्दिर परिसर) मा निःशुल्क कण्डम वितरण गरिने बताउनुभयो ।

साथै, युवालाई मनोरञ्जनबाटै कण्डमको प्रयोग गर्न चेतना फैलाउने उद्देश्यले फागुन १ गते दिउँसो दरबार स्क्वायरमा सांगीतिक कार्यक्रम (लाइभ म्युजिकल कन्सर्ट) गर्ने भएको छ । गायक सौगात राई, एड्रियन प्रधानलगायत चर्चित व्याण्डले विभिन्न सांगीतिक प्रस्तुति राख्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!