काठमाडौँ, १६ माघ । राष्ट्रिय युवा कोषले यस वर्षको नारायणगोपाल युवा सङ्गीत पुरस्कार तथा अरनिको युवा कला पुरस्कार चारजनालाई प्रदान गरेको छ ।

कोषले आज एक कार्यक्रमको आयोजना गरी नारायणगोपाल युवा सङ्गीत पुरस्कार गायक मनोजराज शिवाकोटी र इतु जोजिजु तथा अरनिको युवा कला पुरस्कार कलाकार नगेनसिंह ठकुरी तथा विष्णुप्रसाद श्रेष्ठलाई प्रदान गरेको हो । पुरस्कार राशि प्रत्येक व्यक्तिलाई रु २५ हजारका दरले प्रदान गरिएको हो ।

पुरस्कार प्रदान गर्दै उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री कमल थापाले अन्तर्राष्ट्रिय युवा वर्षका अवसरमा सञ्चालन गरिएको कोषले युवालाई हौसला बढाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । “राम्रो व्यक्तिको हातमा कोष परेकाले यसलाई अगाडि बढाउन कोषले महत्वपूर्ण भूमिका खेलेको छ,” उहाँले भन्नुभयो । उहाँले पुरस्कारले युवालाई काम गर्न थप सक्रिय बनाउने उल्लेख गर्नुभयो ।

कोषका अध्यक्ष भीमबहादुर अधिकारीले कोषले युवालाई श्रम, सीप, सदाचार स्वावलम्बन, सहयोग, सद्भाव र सम्मानको भावना जागृत गर्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने उल्लेख गर्नुभयो । कोषले हालसम्म नारायणगोपाल युवा सङ्गीत पुरस्कार ४३ र अरनिको युवा कला पुरस्कार ३८ जनालाई प्रदान गरिसकेको कोषका सदस्यसचिव शंकरप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

यस्तै कोषले मोती जयन्तीका अवसरमा युवा वर्ष मोती पुरस्कार साहित्यकारद्वय अनुपम रोशी र ज्ञानु अधिकारीलाई प्रदान गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!