- रबिन कटेल/संगालोखबर

धनकुटा, २८ पुस । पञ्चायती ब्यवस्था बिरुद्ध लडेर ज्यान गुमाएका अभिभावकलाई चार दशक बित्न लाग्दासमेत राज्यले शहीद घोषणा नगर्दा निरास बनेका छिन्ताङका शहीदपुत्र बलराम राई शुक्रवार एकाएक खुशीले भक्कानिए । आफ्ना वावु पुत्रमानसहित छिन्ताङ हत्याकाण्डमा ज्यान गुमाएका १६ जनालाई ३८ बर्षपछि सरकारले शहीद घोषणा गरेको खबर सुनेपछि राईमा खुसीको सीमानै रहेन ।

‘यो खबर सुन्दा खुशीले मन थाम्नै सकिन ।’ भक्कानिदै राईले संगालोखबरसँग भने ‘अभिभावकको बलिदानिलाई राज्यले बल्ल मुल्यांकन गरेकाले धेरै खुशी छु ।’ बर्षौ अघिदेखि शहीद घोषणा गर्ने नेताको आश्वासन मात्रले दिक्क भईसकेका राईलाई शहीद घोषणाको खवर सुरुमा पत्याउँनै गाह्रो भयो ।

Advertisement
छिन्ताङमा रहेको शहीदको शालिकहरु ।

यता शहीद गोपाल आनन्दका छोरा योगेन्द्र राईले पनि शहीद घोषणाको खबर सुनेपछि खुशी ब्यक्त गरे । ढिलै भएपनि शहिद घोषणाको खवरले गाउँमा खुसीयाली छाएको उनले बताए । ‘पहिलेनै शहीद घोषणा गरिनुपर्ने हो ।’ शहीदपुत्र राईले भने ‘ढिलै भएपनि शहीदको सम्मान भयो, हामी धेरै खुशी छौ ।’

शहीद परिवार मात्र हैन, शहीद घोषणाको खबरले खाल्सा क्षेत्रमै धेरैपछि खुसीयाली छाएको छ । शहीदभूमी गाउँपालिकाका अध्यक्ष मनोज राईले पनि राज्यले ढिलै भएपनि शहीदलाई सम्मान गरेकाले खुशी लागेको संगालोखबरलाई प्रतिक्रिया दिए । चार दशक बित्न लाग्दासमेत राज्यले शहीद घोषणा नगर्दा निरासा छाएको खाल्सा क्षेत्रमा अहिले सवैमा खुसीयाली छाएको उनले बताए ।

सहिद परिवारका सदस्यहरु । फाईल तस्वीर : संगालोखबर

देश र जनताका लागि लड्दा ज्यान गुमाएको भएपनि राज्यले बेवास्ता गर्दा शहीद परिवारमा निरासा छाएको थियो । शहीद घोषणाको खबरसँगै घर–घरमा दीपावली गरिएको शहीद परिवार संरक्षण समिति अध्यक्षसमेत रहेका शहीदपुत्र बलरामले जानकारी दिए । उनका अनुसार शहीदको शालिकमा पनि माल्यारपण लगायत कार्यक्रम गर्ने तयारी गरिएको छ ।

२०३६ सालमा तत्कालिन पञ्चायती ब्यवस्था बिरुद्ध आवाज उठाउँदा छिन्ताङ, खोकु र आँखिसल्लाका १६ जनालाई राज्यपक्षबाट निर्ममतापूर्वक हत्या गरिदा खाल्सा क्षेत्रनै शोकमा थियो ।

गोपाल आनन्द राई, श्रीमाया राई, भैरबबहादुर खालिङ राई, पुत्रमान राई, गणेशबहादुर बि.क., टंकबहादुर बि.क., बलबहादुर खत्री, केशरमान राई, लाखमान साधु, चन्द्रबहादुर दमाई, धनवीर दर्जी, रणध्वज पुमा राई, गंगाबहादुर तुप्रिहाङ, चन्द्रबहादुर तुप्रिहाङ, रामकुमारी राई र झगेन्द्र राईलाई हत्या गरिएको थियो ।

हत्या गरिएका १६ जनालाईनै शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले शहीद घोषणा गरेपछि घाउमा मलम लागेको अुनभूती भएको शहीद परिवारले जनाएका छन् ।

शहीद घोषणाका लागि बर्षौ अघिदेखि बिभिन्न राजनीतिक दलका नेताले आश्वासन दिर्दै आएका थिए । शहीद घोषणा भएसँगै जिविकोपार्जनको ब्यवस्थापनका लागि पनि पहल गर्न शहीद परिवारले माग गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!