- संगालोखबर सम्वाददाता

धनकुटा, १६ पुस । धनकुटामा प्रादेशिक राजधानी माग गर्दै आज जिल्लाबासीले रित्तो थाल ठटाएर प्रदर्शन गरेका छन् । १ नम्बर प्रदेशको राजधानी माग गर्दै तीन सातादेखि आन्दोलनरत जिल्लाबासीले सांकेतिक रुपमा रित्तो थाल ठटाउँदै धनकुटा बजारमा प्रदर्शन गरेका हुँन् ।

राजधानी नभएमा धनकुटाबासीको थाल रित्तो हुँने संकेत गर्दै सरकारको ध्यानाकर्षण गराउँन रित्तो थाल जुलुश प्रदर्शन गरिएको हो ।राजनीतिक दलका नेताहरुको अगुवाईमा स्थानीय मदनचौकबाट सुरु भएको जुलुशमा सहभागिहरुले थाल ठटाउँदै हुलाकटोल, भीमनारायण चौक, बिहीबारे हटिया लगायत क्षेत्रको परिक्रमा गरेका थिए । ‘हाम्रो भाग नखोसियोस्’ नारा लेखिएको रित्तो थाल ठटाउँदै बजारमा प्रदर्शन गरिएको हो ।

बजार परिक्रमा पश्चात पुनः मदनचौकमा पुगेर भएको सभालाई संबोधन गर्दै धनकुटा प्रदेशसभा (क) का सांसद निरन राईले धनकुटालाई राजधानी घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

प्रादेशिक राजधानी माग गर्दै धनकुटामा थाल ठटाईदै । तस्वीर: रबिन कटेल/संगालोखबर

धनकुटालाई स्थायी राजधानी बनाउँन आफुले प्रदेशसभामा जस्तो सुकै परिस्थितीको पनि सामना गर्ने बताउँदै राईले आन्दोलनलाई निरन्तरता दिन जिल्लाबासीलाई आग्रह गरेका छन् ।

धनकुटालाई प्रादेशिक राजधानी बनाउँनुपर्ने माग गर्दै जिल्लादेखि राजधानीसम्म पनि चरणबद्ध आन्दोलन जारी छ । यसअघि धनकुटामा दैनिक प्रदर्शन गरेर हस्ताक्षर संकलन गरी राजधानी घोषणाका लागि सरकारलाई दवाव दिईएको छ । काठमाण्डौंमा पनि धनकुटेलीको धर्ना लगायत दवावमूलक आन्दोलन जारी छ ।

प्रशासनीक गौडा हुँदै यसअघि पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत रहेको धनकुटालाई प्रादेशिक राजधानी घोषणा गरिनुपर्ने जिल्लाबासीको माग छ । १ नम्बर प्रदेशका १४ वटै जिल्लाको केन्द्र भागमा पर्ने, पर्याप्त भौतिक पूर्वाधार, उपयुक्त हावापानी, मजवुत सुरक्षा ब्यवस्था लगायत कारणले धनकुटालाई राजधानी घोषणा गरिनुपर्ने माग गरेर जिल्लाबासीले आन्दोलन गरेका हुन् ।

धनकुटालाई प्रादेशिक राजधानी घोषणा नगरिएसम्म आन्दोलन जारी रहने आन्दोलन संघर्ष समितिले जनाएको छ ।

थप तस्वीरहरु हेर्नुहोस् …

यो पनि पढ्नुहोस् …

धनकुटालाई प्रादेशिक राजधानी बनाउँन माग गर्दै काठमाण्डौमा धर्ना

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!