- अनलाईनखबर

काठमाडौं, १४ पुस। लाइबेरियामा पूर्वफुटबल स्टार जर्ज वेय नयाँ राष्ट्रपति चुनिएका छन् । निर्वाचनको मतगणनामा ६० प्रतिशतभन्दा बढी मतका साथ उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

Advertisement

जासेफ बोआकीलाई हराउँदै जर्ज राष्ट्रपतिमा चुनिएको खबर सार्वजनिक भएलगत्तै उनका समर्थकहरु खुसी मनाउन सडकमा निस्किएका छन् । राजधानी मोनरोविया लगायतका स्थानमा खुसीको माहोल रहेको बीबीसीले लेखेको छ ।

जर्ज वेयले लाइबेरियाकी पहिलो महिला राष्ट्रपति एलन जोनसन सरलीफको स्थान लिने छन् । विजयी भएपछि जर्जले ट्वीटरमार्फत् भनेका छन्, ‘लाइबेरियाका मेरा साथीहरु, म पूरै देशको भावनाको सम्वोधन गर्नेछु । म आज जिम्मेवारी र महत्वलाई बुझ्दछु । अब हामी परिवर्तन उन्मुख छौं ।’

फुटबलका चर्चित खेलाडी जर्ज एक जमानामा यूरोपको पेरिस सेन्टजर्मन र एसी मिलानको स्टार खेलाडी थिए । आफ्नो करियरको अन्तिम दिनहरुमा उनी चेल्सी र म्यानचेस्टर सीटी क्लबबाट पनि फुटबल खेले । फिफा वर्ल्ड प्लेयर अफ द इयर र बलन डी ओर सम्मान जित्ने उनी एकमात्र अफ्रिकी खेलाडी हुन् ।

सन् २००२ मा खेलबाट सन्यास लिएपछि उनी राजनीतिमा आएका थिए । राष्ट्रपति चुनिनुअघि उनी सांसद बने ।

सन् २००५ मा राष्ट्रपति चुनावमा जर्जलाई एलन जोनसनसँग पराजित हुनुपरेको थियो । सरलीफको शासन सन् २००६ मा शुरु भएको थियो । गृहयुद्धपछि विद्रोहीका कारण तत्कालीन राष्ट्रपति चार्ल्स टेलरले सत्ता गुमाएपछि सरलीफ सत्तामा आएकी थिइन् । टेलर हाल युद्ध अपराधको मुद्दामा वि्रटेनमा ५० वर्षको सजायँ काटिरहेका छन् । टेलरले सन् १९८० र ९० को दशकमा हिंसक विद्रोहको नेतृत्व गरेका थिए । त्यसपछि सन् १९९७ मान चुनाव जितेका थिए ।

लाइबेरियाका केही खास कुरा

पश्चिम अफि्रकामा पर्ने लाइबेरियामा दशकौंसम्म गृहयुद्ध चलेको थियो । दास प्रथाबाट मुक्त भएका अमेरिकी नागरिकले १८२० मा लाइबेरिया देश बनाएका थिए र यहाँ १८४७ मा अफि्रकाको सबैभन्दा पुरानो गणतन्त्रको जन्म भयो ।

आइबेरिया अंग्रेजी शब्द ‘लिबर्टी’बाट बनेको हो जसको अर्थ हुन्छ स्वाधिनता । यस देशको एकातिर समुद्र छ भने बाँकी सबैतिर गिनी, सिएरालियोन र आइभरीकोष्ट पर्दछन् ।

–बीबीसी हिन्दीबाट

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!